काठमाडाैँ । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज बिहानदेखि पूजाआजा तथा दर्शनको लागि आउने भक्तजनको घुइँचो लागेको छ ।
भगवान् शिवको पूजाआराधना तथा जल अर्पण गर्न भक्तजनहरुकोे बिहानदेखि यहाँका शिवालयमा बाक्लो उपस्थिति देखिएको हो । साउन भगवान् शिवको महिना मानिने भएकाले सोमबार विशेषगरी शिवालयमा पूजा तथा दर्शन गर्न आउने भक्तजनको भीड लाग्ने गर्छ । बिहानदेखि भक्तजनको आवगमन बढेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ ।
कैलालीको गोदावरी धाम, धनगढीको बेहडाबाबा मन्दिर, शिवपुरी धाम र धनगढीकै विभिन्न शिवालयमा भक्तजनको घुइँचो छ । साउन अन्तिम सोमबार भएकाले अन्य सोमबारको तुलनामा आज यहाँका शिवालयहरुमा भक्तजनको उल्लेखनीय उपस्थित बढेको धनगढीस्थित शिवपुरी धाममा पुरोहित हरिनारायण भट्टले जानकारी दिनुभयो ।
पूजाका सामग्री, फूलमाला, बेलपत्र तथा फलफूलको व्यापार बढेको छ । धार्मिक आस्थासँगै साउनको सोमवारलाई पारिवारिक सुख, शान्ति र मनोकामना पूरा हुने विश्वाससँग जोडेर हेर्ने गरिन्छ । रासस











