११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
अ अ+ अ-

लमजुङ। कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति ।

प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्रका रूपमा चिनाएको छ । मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा रहेका प्राकृतिक तथा धार्मिकस्थल आन्तरिक पर्यटकका लागि आकर्षणका केन्द्रसमेत बन्न थालेका छन् ।

वडा नं ४ जगतमा रहेको तातोपानी कुण्डमा नुहाउन तथा प्राकृतिक वातावरणको आनन्द लिन मानिसहरू पुग्ने गरेका छन् । वडा नं ६ बाहुनडाँडामा रहेको तातोपानी कुण्ड पनि पर्यटकीय सम्भावना बोकेको स्थल हो ।

प्राकृतिक रूपमा निस्कने तातोपानीमा स्नान गर्दा विभिन्न रोग निको हुने जनविश्वास रहँदै आएको छ । त्यस्तै गाउँपालिकाका विभिन्न डाँडाकाँडाबाट हिमशृङ्खला तथा आसपासका मनोरम भूदृश्यावलोकन गर्न सकिन्छ । वडा नं ३ मा रहेको हर्सिङडाँडा प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक महत्व बोकेको स्थल हो ।

राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालमा गाईवस्तु चराएको स्थानका रूपमा समेत हर्सिङडाँडालाई लिइन्छ । ऐतिहासिक व्यक्तित्वसँग जोडिएको यो स्थललाई पर्यटनसँग जोडेर विकास गर्नसके थप पर्यटक आकर्षित गर्न सकिने स्थानीयको विश्वास छ ।

मर्स्याङ्दी गाउँपालिकाको पर्यटन प्राकृतिक सम्पदामा मात्र सीमित छैन । यहाँको मौलिक संस्कृति पनि अर्को महत्त्वपूर्ण आधार हो । विभिन्न समुदायले मनाउने चाडपर्व तथा परम्परागत नाचगानले स्थानीय सांस्कृतिक पहिचानलाई जीवन्त बनाएको छ ।

घाँटु, सोरठी, कृष्णचरित्र, बालन, झ्याउरे, तामाङ सेलोलगायतका सांस्कृतिक गतिविधिलाई पर्यटनसँग जोड्न सके स्थानीय कला र संस्कृतिको संरक्षणसँगै आम्दानीको स्रोत बनाउन सकिने उत्तिकै सम्भावना छ । गाउँपालिकाका विभिन्न वडा यी पर्यटन तथा यातायात मार्गसँग जोडिएकाले मनाङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलतर्फ आकर्षित गर्न सकिने अवस्था छ ।

विशेषगरी पर्यटकीय मौसममा अन्नपूर्ण पदमार्ग हुँदै आउने विदेशी पर्यटक तथा मनाङ जाने यात्रीलाई स्थानीय गन्तव्यसँग जोड्न सके पर्यटनको लाभ गाउँपालिकाका विभिन्न बस्तीमा पुर्याउन सकिन्छ ।

स्थानीयवासी पूर्णबहादुर गुरुङ मर्स्याङ्दी गाउँपालिका प्राकृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र भएकाले यसको सम्भावनालाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुहुन्छ । पर्यटकीय सम्भावना भएका स्थानको पहिचान गरी संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा थप ध्यान दिन सके स्थानीयले त्यसबाट लाभ लिन सक्ने उहाँको भनाइ छ ।

हर्सिङडाँडाको पर्यटकीय सम्भावनालाई स्थानीयस्तरबाटै उपयोग गर्न थालिएको छ । ऐतिहासिक व्यक्तित्व भक्ति थापासँग जोडिएको स्थल भएकाले पर्यटक आकर्षित गर्न आफूले त्यहाँ पर्यटनलक्षित व्यवसाय सञ्चालन गर्दै आएको पूर्णबहादुरले बताउनुभयो ।

प्राकृतिक सौन्दर्य र ऐतिहासिक पहिचानलाई एकैसाथ उपयोग गर्न सके हर्सिङडाँडा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ । मर्स्याङ्दी गाउँपालिकामा सडक तथा अन्य पूर्वाधार विस्तार भइरहेकाले पर्यटन विकासका लागि थप आधार तयार हुँदै गएको छ ।

पर्यटकीयस्थलसम्म सहज पहुँच, पदमार्ग, खानेपानी, शौचालय, सरसफाइ, सूचना केन्द्र, सङ्केतचिह्न र घरबासलगायतका पूर्वाधारलाई व्यवस्थित बनाउन सके यहाँको पर्यटनले थप गति लिनसक्छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ मर्स्याङ्दी गाउँपालिका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको बताउनुहुन्छ । यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै प्रचारप्रसारलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

पर्यटक आकर्षित गर्ने कार्यक्रम सञ्चालन, आवश्यक पूर्वाधार निर्माण तथा पर्यटकीयस्थलसम्म यातायात सेवा विस्तारमा गाउँपालिकाले ध्यान दिइरहेको उहाँको भनाइ छ । “यहाँका सम्पदाको संरक्षणसँगै व्यापक प्रचारप्रसार, आवश्यक पूर्वाधार निर्माण र यातायात पहुँच विस्तार गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।

अन्नपूर्ण पदमार्ग र बेँसीसहर–चामे सडकसँगको पहुँचलाई स्थानीय पर्यटकीय गन्तव्यसँग जोड्दै संरक्षण, पूर्वाधार विकास, स्थानीय समुदायको सहभागिता र व्यवस्थित प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके मर्स्याङ्दी लमजुङकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनसक्ने सम्भावना छ । रासस