१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’

ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएका छन्।

आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै गजुरेलले ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको बताए। केही प्रहरी कर्मचारीको गलत व्यवहारका कारण समग्र संगठनले बदनामी खेप्न नहुने उनको भनाइ थियो।

उनले ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिलाई कारबाही नगरी आर्थिक लाभ लिएर छाड्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै यस्तो प्रवृत्ति अब स्वीकार्य नहुने बताए।

‘बोलीमा शुद्धता हुनुपर्‍यो, व्यवहारमा नम्रता हुनुपर्‍यो र आर्थिक अनुशासन हुनुपर्‍यो,’ गजुरेलले भने, ‘हामी कसैसँग आर्थिक प्रलोभनमा पर्ने वा आर्थिक लाभ लिने होइन। यी तीनवटा कुरामा हामी स्पष्ट हुनुपर्छ।’

उनले ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री, आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने बताए। आफूहरूले ट्राफिक प्रहरीलाई पूर्ण रूपमा सुरक्षित र प्रविधिमैत्री बनाउने तथा सेवा–सुविधा र अधिकार उपलब्ध गराउने प्रयास गरिरहेको भन्दै उनले त्यसअनुसार कर्तव्य निर्वाह गर्न आग्रह गरे।

गजुरेलले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। राष्ट्रिय यातायात नीति २०८३ मा पनि सुधारका विषय समेटिएको उल्लेख गर्दै उनले नीतिमा मात्र परिवर्तन गरेर नहुने र त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।

उनले ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषय अहिले छलफलकै चरणमा रहेको स्पष्ट पारे। उक्त व्यवस्था कार्यान्वयनमा आइनसकेको भन्दै जरिवानाको रकम निर्धारण गर्नुअघि आम नागरिक र सरोकारवाला निकायसँग छलफल गरिने बताए।

‘एक लाखदेखि डेढ लाखसम्मको जरिवानाको कुरा अहिले छलफलमा ल्याइएको विषय हो। यो लागू भइसकेको छैन,’ उनले भने, ‘आम नागरिक र सरोकारवाला निकायसँग छलफल गरेपछि मात्र जरिवानाको रकम तोकिन्छ।’

गजुरेलले ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने भए पनि त्यससँगै नागरिकमा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए। विशेषगरी काठमाडौंलगायत विभिन्न स्थानमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुन सक्ने भएकाले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

उनले न्यून आय भएका नागरिकलाई उच्च जरिवाना तिर्न कठिन हुने विषयलाई समेत ध्यान दिनुपर्ने बताए। दिनमा एक–दुई हजार रुपैयाँ कमाउने नागरिकलाई ठूलो रकम जरिवाना गर्दा उनीहरूको घरायसी जीवनमा असर पर्न सक्ने भएकाले नियम कार्यान्वयन, जनचेतना र जरिवानाबीच सन्तुलन आवश्यक रहेको गजुरेलले बताए।

‘नियमलाई कडाइ गर्ने र जनचेतनाका कार्यक्रमलाई पनि त्यही हिसाबले अगाडि बढाउनुपर्ने जरुरी छ,’ उनले भने।

गजुरेलले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको विकास, नियम कार्यान्वयन र नागरिक सचेतनालाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।