११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा

‘सिजेरियन’ सेवा ठप्प हुँदा तेह्रथुमका गर्भवतीलाई छ घण्टाको यात्रा
अ अ+ अ-

तेह्रथुम। जिल्ला अस्पतालमा शल्यक्रियामार्फत प्रसूति (सिजेरियन) सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत असार मसान्तदेखि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएपछि प्राकृतिक तरिकाले सुत्केरी हुने बाहेकका गर्भवतीहरू प्रसूति गराउन धरान, विराटनगर लगायतका तराईका जिल्ला अस्पतालहरूमा जानुपर्ने बाध्यता छ ।

म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई आज बिहान प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल ल्याइएको थियो । प्राकृतिक रूपमा प्रसूति हुन नसक्ने अवस्था देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उहाँका श्रीमान् सुरेन श्रेष्ठले बताउनुभयो । “रु १० हजार भाडा तिरेर इभी गाडी रिजर्भ गरी सुत्केरी व्यथा लागेको आफ्नो श्रीमतीलाई करिब छ घण्टाको यात्रा गरेर प्रसूति गराउन लैजानुपर्दा निकै समस्या भएको छ,” उहाँले भन्नुभयो ।

फेदाप गाउँपालिका–१ सिम्लेकी फूलमाया कार्कीले पनि प्रसूति गराउने समय कटिसकेपछि सिजेरियन सेवा उपलब्ध नभएकै कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपरेको बताउनुभयो । “लामो समयदेखि जिल्लामा यो सुविधा पाइरहेका थियौँ । आफ्नै सन्तान जन्माउने समयमा सेवा नपाउँदा दुःख लागेको छ,” उहाँले भन्नुभयो, “सुत्केरी हुनका लागि तराईका जिल्ला जानुपर्दा आर्थिक भार त पर्छ नै चिसो ठाउँमा बसेका मान्छेलाई गर्मीका कारण पनि असहज हुन्छ । जिल्लामै सेवा पाए हावापानी अनुकूल हुनुका साथै खर्च पनि कम हुन्थ्यो । चाँडोभन्दा चाँडो जिल्ला अस्पतालबाटै सेवा सञ्चालन हुनुपर्छ ।”

जिल्ला अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा प्रसूति शल्यक्रियाका लागि आवश्यक जनशक्ति व्यवस्थापन हुँदै आएको थियो । उक्त संस्थाले एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति व्यवस्थापन गर्दै आएको थियो ।

निक साइमनको परियोजना समाप्त भएपछि आवश्यक जनशक्तिको अभावमा सिजेरियन सेवा बन्द भएको जिल्ला अस्पताल तेह्रथुमका सूचना अधिकारी महेन्द्रकुमारी खड्काले बताउनुभयो । उहाँका अनुसार सामान्य अवस्थामा जिल्ला अस्पतालमा महिनामा ३० देखि ३५ जनासम्मले प्रसूति सेवा लिने गरेका थिए तर असार मसान्तदेखि सिजेरियन सेवा बन्द भएपछि चालु महिनामा हालसम्म छ जनाले मात्रै अस्पतालबाट प्रसूति सेवा लिएका छन् ।

सिजेरियन सेवा आवश्यक पर्ने गर्भवतीलाई पाँचदेखि छ घण्टाको सडक यात्रापछि मात्र तराईका सुविधासम्पन्न अस्पतालमा पुर्‍याउनुपर्ने भएकाले जोखिम मोल्न नचाहने सेवाग्राही जिल्ला अस्पतालमा प्रसूति सेवा लिन नआउने गरेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा जिल्ला अस्पताल तेह्रथुमबाट ४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । हाल प्राकृतिक रूपमा हुने प्रसूतिबाहेक कृत्रिम औषधि प्रयोग गर्नुपरेमा पहिलो सन्तान ‘अप्रेसन’बाट सुत्केरी गराइएका गर्भवतीलाई जिल्ला बाहिरका अस्पतालमा ‘रेफर’ गर्ने गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा खड्गलाल पयाङ्गु लिम्बूले बताउनुभयो ।

उहाँका अनुसार सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन जिल्ला अस्पतालले प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिरहेको छ । एनेस्थेसिया सेवाका लागि आवश्यक जनशक्ति भने अस्पताल विकास कोषबाट व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमा तेह्रथुमका अतिरिक्त छिमेकी जिल्ला सङ्खुवासभाको मादी, मूलखर्कलगायत क्षेत्रबाट समेत सेवाग्राही प्रसूति सेवा लिन आउने गरेका छन् । रासस