काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा सेना गठन गर्न नहुने बताएका छन्। उनले यस्ता समूहसँग सरकारले वार्ता गर्नुको सट्टा कानुनी कारबाही गरी नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति सरकार गम्भीर हुनुपर्ने बताए। उनले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति समेत असन्तुष्टि व्यक्त गरे।
सुनसरी र मधेसका घटनापछि चर्चामा आएको हिन्दु सम्राट् सेनाप्रति संकेत गर्दै उनले नेपालमा नेपाली सेना मात्रै वैधानिक सुरक्षा निकाय भएको उल्लेख गरे। उनले राज्यले यस्ता समूहलाई वैधता दिने गरी वार्ता नगरी कानुनअनुसार नियन्त्रण र निषेधको नीति अपनाउनुपर्नेमा जोड दिए।
राईले राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा सरकार स्पष्ट र दृढ हुनुपर्ने भन्दै संविधान र कानुनको पालना गराउन राज्यको भूमिका प्रभावकारी हुनुपर्ने बताए।











