१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन



अ+ अ-

दाङ। तुलसीपुरमा निर्मित राप्ती आँखा अस्पतालको शल्यक्रिया भवन उद्घाटन भएको छ ।

अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैँडन र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख  टीकाराम खड्काले आज संयुक्त रूपमा आज उद्घाटन गर्नुभयो ।

भारत सरकारको चार करोड २४लाख ३८ हजार अनुदानमा सुविधा सम्पन्न सो भवन निमाण भएको जनाईएको छ ।

कार्यक्रममा भारतीय राजदूतावासका काउन्सिलर ब्रैँडनले राप्ती आँखा अस्पतालको शल्यक्रिया भवनको उद्घाटनमा उपस्थित हुन पाउँदा आफू उत्साहित भएको धारणा राख्नुभयो । यो उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल-भारत विकास सहयोगमार्फत भारत सरकारको अनुदानमा निर्माण गरिएको जनाउँदै यसको कार्यान्वयन तुलसीपुर उपमहानगरपालिकाले गरेको उहाँले बताउनुभयो ।

काउन्सिलर ब्रैँडनले योसँगै भारत र नेपालबीच विकास साझेदारी थप मजबुत भएको बताउनुभयो । उहाँले सन् २००३ मा सुरु भएको उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत नेपाल-भारत विकास साझेदारी एक महत्वपूर्ण स्तम्भ रहेको बताउँदै उहाँले यी परियोजना स्थानीय निकायमार्फत तल्लो तहमा कार्यान्वयन गरिने धारणा राख्नुभयो । यसमा नेपाल सरकारका स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, ढल निकास, तटबन्धन, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रणलगायत प्राथमिक क्षेत्र पर्ने उहाँले बताउनुभयो ।

यो कार्यक्रम सुरु भएदेखि नेपालभर लगभग रु एक हजार ५८२ करोड लागतमा ६०० परियोजना कार्यान्वनमा आएका जानकारी दिँदै काउन्सिलर ब्रैँडनले भन्नुभयो, “यी परियोजना नेपालका ७४ जिल्लामा कार्यान्वयनमा आएका छन् । लुम्बिनी प्रदेशमा ६६ वटा सञ्चालनमा रहेकामा दाङ जिल्लामा मात्रै सात वटा परियोजना छन् । यी परियोजना सबै नेपाल सरकारले पहिचान गरी कार्यान्वयनमा आएका हुन् ।”

साथै भारत सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको बताउँदै काउन्सिलर ब्रैंडनले हालसम्ममा एक हजार ४९ एम्बुलेन्स र ३८१ स्कुल बस उपहार स्वरुप प्रदान गरिएको जानकारी दिनुभयो । “तीमध्ये लुम्बिनी प्रदेशमा १६९ एम्बुलेन्स र ५९ स्कुल प्रदान गरिएकामा दाङमा १९ एम्बुलेन्स र आठ वटा स्कुल बस प्रदान गरिएको छ”, उहाँले भन्नुभयो ।

ती सवारीसाधनले स्वास्थ्य सेवा पूर्वाधारको प्राथमिक आवश्यकता पूरा गर्नुका साथै दुर्गम क्षेत्रमा शिक्षामा पहुँच सुनिचित गर्न महत्वपूर्ण भूमिका खेलेका काउन्सिलर ब्रैँडनले विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा यस सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरप्रमुख खड्काले भारत सरकारको सहयोगमा सुविधा सम्पन्न अस्पतालको शल्यक्रिया भवन निर्माणले यस क्षेत्रका नागरिकले गुणस्तरीय सेवा पाउनेमा विश्वस्थ रहेको बताउनुभयो । आफूहरूले भवन निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरेपछि सहयोग प्राप्त भएकामा उहाँले भारतीय दूतावासमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, राप्ती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र लामिछाने, लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य शङ्कर गिरी, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरतबहादुर चन्दलगायत वक्ताहरू दुर्गम क्षेत्रका नागरिकलाई मध्यनजर गरी भारत सरकारले सुविधा सम्पन्न शल्यक्रिया भवन निर्माण गरिदिएकामा धन्यवाद दिनुभयो । भवन निर्माणसँगै अब आधुनिक शल्यक्रिया सेवा यहीँबाट प्रवाह हुने भएकाले स्थानीय नागरिक लाभान्वित हुने उहाँहरूको भनाइ छ ।

कार्यक्रममा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख शमशेर थापाले भवन निर्माण भएसँगै आँखा स्वास्थ्यको विकास, विस्तार र हालसम्म दिइएको सेवाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा भवन निर्माण उपसमिति र सहयोग गर्ने प्राविधिकलाई सम्मान गरिएको थियो। रासस