काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका सांसदहरुलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरि सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ ।
बिहीवार सिंहदरबारमा मधेश र कोशी प्रदेशका सांसदहरुको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिनुभएको हो ।
उहाँकाअनुसार बैठकमा सभापति लामिछानेले कुनैपनि किसिमको धार्मिक सद्भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको भन्दै निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निदेशन दिएका हुन् । सांसद अन्सारीले पार्टीको निर्देशन बमोजिम सबै सांसदहरु आ–आफ्नो जिल्ला जान लागेको बताउनु भयो ।
उहाँले राज्यका हरेक नागरिक एउटै परिवार हो भन्ने कुरामा पार्टी स्पष्ट भएको भन्दै नागरिक वा समूदायमाथि आइपर्ने कुनैपनि प्रकारको आपत्तिलाई पार्टी गम्भीर रुपमा लिने बताउनुभयो । बैठकबाट बाहिरिँदै उहाँले नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने र हिंसा भड्काउने खालका अभिव्यक्ति नदिन समेत अपिल गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यका हरेक नागरिक एउटै परिवार हौँ भन्ने कुरामा पार्टी स्पष्ट छ । कुनैपनि नागरिक वा समूदायमाथि कुनैपनि प्रकारको आपत्ति आउँछ भने पार्टी गम्भीर रुपमा लिन्छ । र पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै उहाँ(सभापति)ले स्पष्ट निर्देशन दिनुभएको छ, पार्टीका सम्पूर्ण सांसदहरु आआफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्भावको सन्देश दिँदै यसप्रकारका सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नू भन्नुभएको छ । सोही अनुरुप हामी आआफ्नो प्रदेश र जिल्ला जान्छौँ । र राज्यका संयन्त्रहरुसँग आवश्यक समन्वय पनि गर्छौँ ।’
सुनसरी, सिरहा लगायत पूर्वी जिल्लमा धार्मिक तनाव उत्पन्न भएको छ । –न्युज एजेन्सी नेपाल











