७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण

बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण
फाइल फोटो
अ+ अ-

चितवन। सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।

अन्तरराष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बाघको सङ्ख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा राख्नुभयो ।

उहाँले निकुञ्ज व्यवस्थापनमा मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी पत्रकार तथा संरक्षण अभियानमा सक्रिय विभिन्न समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

बाघको सङ्ख्या बढेसँगै विभिन्न क्षेत्रका सरोकारवालाको दृष्टिकोण पनि फरक–फरक हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पर्यटन व्यवसायी बाघ बढेकोमा खुसी हुन्छन् भने मध्यवर्ती  क्षेत्रका स्थानीय बासिन्दालाई घाँस–दाउरा गर्न जाँदा सुरक्षाको चिन्ता हुन्छ । वैज्ञानिकहरू भने बाघको जनसङ्ख्याको गतिशीलताबारे अध्ययनमा केन्द्रित हुन्छन् । व्यवस्थापकका रूपमा यी सबै पक्षलाई समेटेर अघि बढ्नु हाम्रो दायित्व हो ।”

उहाँका अनुसार हालै सम्पन्न क्यामेरा ट्यापिङबाट ६४ पोथी, ५३ भाले र १३ वटा लिङ्ग नखुलेका गरी १२७ वटा बाघको प्रत्यक्ष तस्बिर प्राप्त भएको छ । वैज्ञानिक तथ्याङ्कीय  मोडेलका आधारमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको अनुमानित सङख्या १४५ कायम गरिएको छ ।

प्रत्यक्ष तस्बिरमा देखिएका बाघमध्ये ४९ प्रतिशत पोथी, ४१ प्रतिशत भाले र १० प्रतिशतको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बाघविज्ञ डा बाबुराम लामिछानेले बाघको सङ्ख्या एक सयभन्दा माथि रहनु यस क्षेत्रको पारिस्थितिक प्रणाली र बाघको जनसङख्या स्थिर रहेको सङ्केत भएको बताउनुभयो । उहाँले भाले बाघले आफ्नो बसोबास क्षेत्र विस्तार गर्ने र नयाँ बासस्थानको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्ने स्वभावका कारण बाघ गणनामा वैज्ञानिक विधि अपनाइने जानकारी दिनुभयो ।

उहाँले संरक्षणसँगै चोरी–सिकारी नियन्त्रण, बासस्थानको प्रभावकारी व्यवस्थापन तथा संरक्षणमुखी नीतिका कारण नेपालमा बाघको सङ्ख्या लोपोन्मुख अवस्थाबाट उल्लेखनीय रूपमा वृद्धि भएको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार बाघको शरीरमा रहेका विशिष्ट धर्काको विश्लेषण गर्दै ‘क्याप्चर–रिक्याप्चर’ विधिबाट गणना गरिन्छ । ठूलो भौगोलिक क्षेत्रमा सीमित सङ्ख्यामा क्यामेरा जडान गरिने भएकाले क्यामेरामा नपरेका बाघलाई पनि वैज्ञानिक तथ्याङ्कीय मोडेलमार्फत अनुमान गर्ने व्यवस्था रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि तीनै तहका सरकारले समन्वयात्मक नीति र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वन्यजन्तु संरक्षण राष्ट्रिय गौरवको विषय भए पनि त्यसबाट स्थानीय समुदायले भोग्नुपरेका जोखिम र क्षतिलाई कम गर्नु उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोर क्षेत्रको प्रभावकारी व्यवस्थापन, मध्यवर्ती क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार तथा संरक्षणका कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्छ । निकुञ्ज, स्थानीय उपभोक्ता समिति र साझेदार संस्थाबीचको सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक छ ।”

उहाँले अन्तरराष्ट्रिय बाघ दिवसका अवसरमा मध्यवर्ती क्षेत्रमा समुदाय लक्षित संरक्षण कार्यक्रम सुरु गरिएको जानकारी दिँदै स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट वन्यजन्तुको आक्रमणबाट हुने क्षति र मानवीय हताहती न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संरक्षणकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वन कार्यालयका कर्मचारी, विद्यार्थी स्थानीयवासी तथा सरोकारवालाको सहभागिता थियो । सहभागीले बाघ संरक्षण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा संरक्षणका चुनौती र सम्भावित समाधानका विषयमा छलफल गरेका थिए । रासस