काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले शहरको अव्यवस्थित तार व्यवस्थापन कार्यको संयुक्त रूपमा स्थलगत अनुगमन गर्नुभएको छ ।
लगातारको वर्षाका बाबजुद दुवै मन्त्रीले छाता ओढेरै झुन्डिएका तार व्यवस्थापनको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको हो । अनुगमनका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिकूल मौसमका कारण काम रोकिन नहुने बताउनु भयो ।
कर्मचारीहरूले निरन्तर काम गरिरहेको उल्लेख गर्दै उहाँले वर्षालाई अस्थायी अवरोधका रूपमा लिएर निर्धारित समयसीमाभित्रै कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कर्मचारीहरूले झरीको पर्वाह नगरी निरन्तर काम गरिरहनुभएको छ । वर्षा एउटा अस्थायी अवरोध मात्र हो, यसलाई मानेर काम रोक्नु हुँदैन । कामको डेडलाइन नजिकिँदै गरेकाले हामीले यसलाई तिब्रता दिनुपर्छ ।’
सहरको सौन्दर्यीकरण र सुरक्षाका लागि झुन्डिएका तार व्यवस्थापन गर्ने सरकारको प्राथमिकता अनुरूप मन्त्रीहरू आफैँ फिल्डमा ओर्लिएर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा सम्बन्धित निकायका प्रतिनिधिहरूलाई काममा थप तदारुकता देखाउन समेत निर्देशन दिइएको छ ।
तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल






















