काठमाडौं । धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले रासायनिक मलको आपूर्ति थप सुदृढ बनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ भने कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी बोकेको अर्को रेल रेक बुधबार रक्सौल आइपुग्ने क्रममा रहेको छ।
कम्पनीका अनुसार विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मल भित्रिसकेको छ। थप डीएपी मल ट्रकमार्फत विराटनगर ल्याइँदै रहेको र गन्तव्यमा पुगेपछि वितरण प्रक्रिया अघि बढाइने जनाइएको छ।
यस्तै, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू मंगलबार नै भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। ती मलहरू सम्बन्धित क्षेत्रका डिपोमा पुगेपछि किसानलाई तत्काल वितरण गरिने कम्पनीले जनाएको छ।
धान रोपाइँको व्यस्त समयमा मलको अभाव हुन नदिन आयात र ढुवानी प्रक्रियालाई तीव्र बनाइएको कम्पनीले जनाएको छ। सरकारले देशभर आवश्यकताअनुसार रासायनिक मल उपलब्ध गराउने तयारीका साथ आपूर्ति व्यवस्थापनलाई निरन्तर सुदृढ बनाइरहेको जनाएको छ।











