९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्कटमा पर्दै पानीघट्ट बनाउने व्यवसाय



अ+ अ-

सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट वनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बन्नुभएको छ । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आउनुभएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा हुनुहुन्छ । घर नजीकैको ढुङ्गेखानीबाट पानीघट्ट र जाँतो बनाउन बिहानैदेखि व्यस्त हुने नरबहादुर मुश्किलले महिनामा दुईचार दिन मात्रै खानीमा आउनुहुन्छ ।

सल्यान, रोल्पा, रुकुम र जाजरकोटबाट समेत पानीघट्ट लिन आउनेहरु अहिले घटेका छन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानीघट्ट सङ्कटमा परेसँंगै घट्ट निर्माण पेशा पनि सङ्कटमा पर्न थालेको छ । बितेका तीनचार वर्षदेखि पानीघट्ट किन्ने मानिसहरु निकै कम आउने गरेको पुने बताउनुुहुन्छ । “मैले १६ वर्षको उमेरदेखि घट्ट बनाउन शुरु गरे त्यतिबेला एकजोडा घट्टको मूल्य ८ हजार रुपैयाँ थियो, काम पनि त्यत्तिकै आउँथ्यो, हामी २५ जनाले एउटै खानीमा काम गर्दा भ्याइनभ्याइ थियो अहिले छ महिनामा एकजोडा पनि बिक्री हुँदैन”, पुनेले भन्नुभयो ।

घट्ट बनाएरै आफ्ना छोराछोरीको पढाइ तथा खर्च टार्दै आउनुभएका नरबहादुर पनि घट्ट व्यवसाय सङ्कटमा परेपछि चिन्तित हुनुहुन्छ । “ कुनै बेला काममा भ्याइ नभ्याइ भयो, छोराहरुलाई पनि यही काममा लगाएँ तर अहिले पेशा मात्रै सङ्कटमा परेन, परिवारको आम्दानी पनि बन्द भयो ”, नरबहादुरले भन्नुभयो ।

फलाटेमा तीन ठाउँमा पानीघट्टको खानी रहेकाले यसको संरक्षण गर्न गाउँपालिकाले पनि चासो नदिएको खानी मजदूरको गुनासो छ । “यहाँको ढुङ्गा निकै बलियो भएकोले घट्टको माग पनि बढी नै थियो, न प्रचारप्रसार भयो न सरकारी निकायले कुनै चासो दियो ।” स्थानीयवासी पूर्णबहादुर रेउलेले भन्नुभयो । उहाँका अनुसार खानीबाट रु तीन करोड बढीका घट्ट बिक्री भइसकेको छ ।

अहिले एक जोडा घट्टको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने पूर्णबहादुर रेउलेको भनाइ छ । “एक जोडा घट्ट निर्माण गर्न चारदेखि छ दिनसम्म लाग्छ तर अहिले पेशा सङ्कटमा परेपछि मानिस भारत तथा अन्य देशमा पलायन हुन थालेका छन्”, पूर्णबहादुरले भन्नुभयो ।
पानी घट्ट निर्माण व्यवसाय प्रचारप्रसार तथा व्यवस्थित गर्न सके गाउँमै स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले कुनै चासो नदिएको स्थानीयवासीको गुनासो छ । गाउँपालिकाले खानी व्यवस्थित गर्नका लागि माग नआएको गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिनुभयो । “कुनै बेला मैले पनि घट्ट बनाउने काम गरेको हुँ, समस्या छ तर पनि के गर्ने भन्ने माग नै आएको छैन”, अध्यक्ष चलाउनेले भन्नुभयो ।

उहाँहरुले माग गर्न आएमा गाउँपालिका सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । “यहाँ पानी घट्ट बनाउने २५ जना छन् उहाँहरुले यसलाई व्यवस्थित गर्नका लागि ठोस योजनासहित माग गर्न आउनुभयो भने हामी सहयोग गर्न तयार छौं”, अध्यक्ष चलाउनेले भन्नुभयो । जलवायु परिवर्तनका कारण पानीका मुहान सुकेपछि घट्टसमेत कम हुँदै गएकाले माग घटेको हुन सक्ने अध्यक्षको भनाइ छ । “विभिन्न कारणले पानी घट्टको माग कम भएको हुन सक्छ, यसलाई बुझेर गाउँपालिकाले पनि योजना बनाउँछ”, अध्यक्ष चलाउनेले भन्नुभयो ।