गण्डकी: गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकवि केशरी धर्मराज थापाले नेपाली लोकसङ्गीत क्षेत्रमा पुर्याउनुभएको योगदान अविष्मरणीय रहेको बताउनुभएको छ ।
‘धर्मराज-सावित्री थापा प्रतिष्ठान’ ले थापाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले लोक साहित्य, संस्कृति एवं लोकगीतको जगेर्ना र उत्थानमा जनकविको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
“लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक धर्मराज थापा गाउँबेसी, उकाली-ओराली र पाखा-पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो”, प्रदेश प्रमुख भट्टले भन्नुभयो, “उहाँले गाउँगाउँ पुगेर हराउन लागेका लोक धुन र भाकाहरू सङ्कलन गर्नुभयो । उहाँका कालजयी सिर्जनाहरू आज पनि नेपाली मनमस्तिष्कमा उत्तिकै जीवन्त छन् । उहाँका गीतहरूमा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्बिर झल्कन्छ ।”
नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जनाहरू मार्गदर्शक रहेका उहाँको भनाइ छ । “आजको यो आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा थापाजस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु अझ बढी सान्दर्भिक भएको छ”, उहाँले भन्नुभयो ।
जनकवि थापाले देखाउनुभएको सांस्कृतिक संरक्षणको अभियानलाई निरन्तरता दिनु, लोकसाहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई लोकसंस्कृतिसँग जोड्नु तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने प्रदेश प्रमुख भट्टले धारणा राख्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट ‘धर्मराज-सावित्री थापा लोक संस्कृति-साहित्य पुरस्कार’ स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारी र ‘धर्मराज-सावित्री थापा लोकगीत-सङ्गीत पुरस्कार’ पोखराको भैरव सांस्कृतिक संरक्षण समितिलाई प्रदान गरिएको थियो । दुवै पुरस्कारको राशि रु ५० हजार रहेको प्रतिष्ठानले जनाएको छ । सम्मान कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राडा कुशुमाकर न्यौपानेलगायतको उपस्थिति थियो ।रासस











