३२ असार २०८३, बिहीबार
,
Latest
अमेरिकासँग व्यापार सहुलियत निरन्तरताका लागि नेपालको आग्रह, लगानी बढाउन पनि अनुरोध बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण नश्ल सुधार कार्यक्रम: मुर्रा राँगाको वीर्य किसानलाई वितरण सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन सरकारको निःशुल्क स्वास्थ्य पोर्टल प्रभावकारी बन्दै सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत वर्षापछि फेवातालको सतहमा उल्लेख्य वृद्धि (तस्बिरहरू) राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष…
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसीमा ६७ वर्षीय वृद्धको मस्तिष्कको जटिल ‘एभीएम’ को विना चिरफार सफल उपचारः नेपालकै पहिलो घटना भएको दाबी



अ+ अ-

काठमाडौं। काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षको उमेरमा मस्तिष्कको रक्तनली फुटेका एक बिरामीको न्युरोइन्टरभेन्सन प्रविधिमार्फत विनाचिरफार सफल उपचार गरेको छ ।

कलेजकाअनुसार ६७ वर्षको उमेरमा ‘ब्रेन एभीएम’ (आर्टेरियोभेनस मालफर्मेसन) फुटेको बिरामीको यस प्रविधिबाट सफल उपचार भएको यो नेपालकै पहिलो घटना हो ।

पहिलेदेखि नै कलेजोको दीर्घकालीन रोगबाट पीडित ६७ वर्षीय हरिप्रसाद कँडेल अचानक बेहोस भएपछि उनलाई उपचारका लागि केएमसीको आकस्मिक कक्षमा पु¥याइएको थियो । अस्पतालमा गरिएको सीटी स्क्यानमा उनको मस्तिष्कको असामान्य स्थानमा ठूलो मात्रामा रक्तस्राव (हेमाटोमा) देखिएको थियो ।

रक्तस्रावको प्रकृति जटिल भएकाले वास्तविक कारण पत्ता लगाउन अस्पतालको अत्याधुनिक बाइप्लेन क्याथल्याबमा ‘डीएसए एन्जियोग्राफी’ परीक्षण गरियो । न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा गरिएको उक्त परीक्षणबाट कँडेलको मस्तिष्कमा रगत पु¥याउने धमनी र फर्काउने शिराबीच जन्मजात बनेको असामान्य रक्तनलीको जालो (एभीएम) फुटेर रक्तस्राव भएको पुष्टि भयो । उपचार प्रक्रियामा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलको टोली पनि संलग्न थियो ।

चिकित्सकहरूकाअनुसार एभीएम एक दुर्लभ जन्मजात विकृति हो, जुन सामान्यतया युवावस्थामै देखिने वा फुट्ने गर्दछ । ६७ वर्षको उमेरमा यस्तो समस्या देखिनु र फुट्नुलाई अत्यन्त दुर्लभ र उच्च जोखिमपूर्ण मानिन्छ । बिरामीको अवस्थालाई दृष्टिगत गर्दै चिकित्सकहरूले परम्परागत शल्यक्रिया (टाउको खोल्ने विधि) को सट्टा न्युरोइन्टरभेन्सन (एन्डोभास्कुलर) प्रविधि अपनाएका थिए । यस प्रक्रियामा तिघ्राको रक्तनलीबाट एउटा सानो क्याथेटर मस्तिष्कसम्म पु¥याएर स्टेन्ट र बेलुनको सहयोगले फुटेको एभीएमलाई सुरक्षित रूपमा बन्द गरियो । जटिल उपचारपछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको अस्पतालले जनाएको छ ।

उपचारमा संलग्न डा. अरुण पौडेलकाअनुसार मस्तिष्कमा असामान्य स्थानमा रक्तस्राव देखिएमा त्यसलाई सामान्य स्ट्रोक मात्र नमानी विशेषज्ञद्वारा सुक्ष्म मूल्याङ्कन गराउनु आवश्यक हुन्छ । समयमै सही पहिचान र आधुनिक प्रविधिको प्रयोगले यस्ता गम्भीर अवस्थाका बिरामीको ज्यान बचाउन सकिने उहाँले बताउनु भयो ।

उपचारपछि पूर्ण रूपमा निको हुनुभएका हरिप्रसाद कँडेल र उनका परिवारले सफल उपचारका लागि चिकित्सक टोलीप्रति आभार व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्माद्वारा सञ्चालित केएमसीले यस उपलब्धिलाई नेपालको चिकित्सा इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिएको छ । –न्युज एजेन्सी नेपाल