२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न



अ+ अ-

झापा। एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ ।

आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ ।

एसियाली हाइवे परियोजना पूर्वी खण्डका आयोजना प्रमुख इन्जिनियर सुनीलबाबु पन्तले चारआली ओभरपासको संरचनागत निर्माण आधाभन्दा बढी भइसकेको बताउँदै बाँकी कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिर्तामोड नगरपालिका-२ स्थित चारपाने खण्डमा निर्माण भइरहेको अर्को ओभरपासको प्रगति पनि करिब ३५ प्रतिशत पुगेको छ ।

चारआली चोकमा निर्माणाधीन ओभरपासको पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर र्‍याम्प (भिरालो बाटो वा गाडी कुदाउने) रहने इन्जिनियर पन्तले बताउनुभयो ।

ओभरपास सञ्चालनमा आएपछि पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामो दूरीका सवारीसाधन चोकमा नरोकी माथिल्लो संरचनाबाट गुड्नेछन् भने स्थानीय सवारीसाधनले तलको सडक प्रयोग गर्नेछन् । यसबाट ट्राफिक व्यवस्थापन, यात्रा समयको बचत तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने आयोजनाको विश्वास छ ।

इन्जिनियर पन्तका अनुसार बिर्तामोडको मुक्तिचोकमा ओभरपास निर्माण ढिलाइ हुनुको मुख्य कारण विद्युत्का खम्बा स्थानान्तरणमा भएको ढिलाइ हो । अहिले अधिकांश खम्बा सार्ने काम सम्पन्न भइसकेकाले यही सातादेखि निर्माण कार्य सुरु गरिने तयारी गरिएको उहाँले बताउनुभयो ।

सरकारले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काँकडभिट्टाबाट सुनसरीको लौकहीसम्म ९५ दशमलव ७६ किलोमिटर पूर्व-पश्चिम राजमार्गलाई चारलेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ । सोही आयोजनाअन्तर्गत चारआली, चारपाने, बिर्तामोड दमकसहित विभिन्न स्थानमा ओभरपास निर्माण भइरहेको हो ।

चारआली ओभरपास निर्माण सम्पन्न भएपछि बजार क्षेत्रको ट्राफिक जाम अन्त्य भई व्यापार-व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीय व्यवसायी शरद् शिवाकोटीले व्यक्त गर्नुभयो । उहाँका अनुसार अहिले दैनिकजसो हुने सवारी चापका कारण बजार क्षेत्र प्रभावित हुने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले ओभरपास निर्माणले मेचीनगरको शहरी स्वरूपमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले मेची पुलदेखि चारआलीसम्मको बजार क्षेत्रलाई व्यवस्थित बनाउन यस परियोजनाले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय बद्री महतले मेची राजमार्ग र पूर्व-पश्चिम राजमार्गको सङ्गमस्थल चारआलीमा ओभरपास निर्माण भएपछि यातायात थप सहज हुनुका साथै स्थानीय व्यापार, व्यवसाय र समग्र क्षेत्रीय विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो । निर्धारित समयमै आयोजना सम्पन्न हुनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । रासस