काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले राष्ट्रिय रूपमा संवेदनशील विषयमा गैरजिम्मेवार ढंगले सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै त्यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
सरकारका सय दिनको समीक्षा गर्न कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रदेशको नामकरणजस्ता विषय अझै पनि संवेदनशील र विवादित रहेको उल्लेख गर्दै यस्ता मुद्दामा मन्त्रीहरूबाट आउने फरक–फरक अभिव्यक्तिले अन्योल र विवाद बढाउने चेतावनी दिए।
उनले सरकारका मन्त्रीहरूबीच एउटै विषयमा एकरूपता नदेखिएको टिप्पणी गर्दै कसैले एउटा धारणा राख्ने, अर्कोले त्यसको विपरीत बोल्ने र अर्कैले त्यसलाई खारेज गर्ने प्रवृत्तिले सरकारको स्पष्ट नीति र जिम्मेवारीमाथि नै प्रश्न उठाएको बताए।
थापाले संविधान निर्माणका क्रममा अपनाइएका संवेदनशीलता, सहमति र सन्तुलनलाई सरकार सञ्चालन गरिरहेका दलका नेताहरूले बेवास्ता गरिरहेको आरोप लगाए। उनका अनुसार यस्ता विषयमा बोल्दा सरकारका जिम्मेवार पदाधिकारीहरूले संविधानको मर्म, राजनीतिक संवेदनशीलता र सामाजिक प्रभावलाई विशेष ध्यान दिन आवश्यक छ।
उनले सरकारलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन तथा राष्ट्रिय महत्वका विषयमा साझा धारणा बनाएर मात्रै बोल्न आग्रह गर्दै संवेदनशील मुद्दामा गैरजिम्मेवार टिप्पणीले राजनीतिक विश्वास र सामाजिक सद्भावमा असर पर्न सक्ने चेतावनी दिए।











