काठमाडौँ। दुई दशकअघि मोरङका लोकबहादुर राई रोजगारीको खोजीमा कतार पुग्दा मन ठूलो सपना थिएन । एउटा एकतले पक्की घर बनाउने र परिवारको जीवन केही सहज बनाउने चाहना मात्रै थियो ।
कतारमा पुगेर उहाँले सोचेजस्तै काम पाउनुभयो । कम्पनी राम्रो पर्यो, कमाइ पनि सन्तोषजनक भयो । तर, पैसा कमाइरहँदा पनि मन भने सधैं नेपालकै आँगनमा डुलिरहन्थ्यो । “विदेशमा हुँदा पैसा त कमाएँ, तर मन नेपालतिरै हुन्थ्यो, घर छोडेर विदेश जानु रहर थिएन, बाध्यता थियो”, उहाँले भन्नुभयो ।
रोजगारीको खोजीमा विदेश गएका कतिपयले त्यसैलाई स्थायी गन्तव्य बनाए । तर राईका लागि विदेश कमाइ गर्ने ठाउँ मात्रै थियो, जीवन बिताउने होइन । त्यसैले करिब डेढ दशक कतारमा पसिना बगाएर घर बनाइसकेपछि उहाँ स्वदेश फर्किनुभयो । फर्किएपछि रोजगारी खोज्ने होइन, आफ्नै उद्यम खडा गर्ने निर्णय गर्नुभयो ।
आज त्यही निर्णयले उहाँलाई सफल उद्यमीको पहिचान दिलाएको छ ।
बिहीबार सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवबाट उहाँ उत्कृष्ट राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मानित हुनुभयो । रु एक लाख ५० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान ग्रहण गर्दै उहाँको अनुहारमा संघर्षको मिठास झल्किन्थ्यो ।
“कुनै बेला काम खोज्दै विदेश गएको थिएँ,” उहाँले मुस्कुराउँदै भन्नुभयो, “आज आफ्नै देशमा उद्यमी बनेर सम्मानित हुन पाउँदा निकै सन्तुष्ट छु ।” मोरङको लेटाङ नगरपालिका–४ निवासी राईले स्वदेश फर्किएपछि बजारको आवश्यकता बुझ्न थाल्नुभयो । विभिन्न सम्भावनाको अध्ययनपछि उहाँ मौरीपालन व्यवसायतर्फ आकर्षित हुनुभयो ।
‘प्रशंसा हनी फर्म’ स्थापना गरेर जम्मा नौ वटा मौरीका गोलाबाट सुरु भएको यात्रा अहिले करिब तीन सय गोलासम्म पुगेको छ । कुनै समय रोजगारीको खोजीमा विदेशिन बाध्य भएका राई अहिले आफ्नै उद्यममार्फत अरूलाई पनि रोजगारी दिन सक्ने अवस्थामा पुग्नुभएको छ । उहाँका अनुसार सफल उद्यमी बन्न ठूलो पुँजीभन्दा पनि धैर्य, मेहनत र निरन्तरताको आवश्यकता पर्छ ।
तर यो सफलता सहजै प्राप्त भएको भने होइन । मौरी पाल्नु र मह उत्पादन गर्नु एउटा चुनौती हो भने त्यसलाई बजारमा बेच्नु अर्को ठूलो परीक्षा । व्यवसाय सुरुका दिनमा राईले मह बोकेर गाउँ–सहरका घर–घर पुग्नुपथ्र्यो। तर ग्राहकले विश्वास गर्न मान्दैनथे ।
“मह बोकेर जाँदा धेरैले ‘यो त चिनी मिसाएको नक्कली मह होला’ भनेर शङ्का गर्थे,” उहाँ सम्झनुहुन्छ, “कतिपटक दिनभर बजार डुलेर एक बोतल पनि नबिकी रित्तै घर फर्किएको छु ।” तर उहाँले हार मान्नुभएन । गुणस्तरमा कहिल्यै सम्झौता गर्नुभएन । ग्राहकलाई शुद्ध मह उपलब्ध गराउने अठोटले निरन्तर काम गरिरहनुभयो ।
समयसँगै ग्राहकको धारणा बदलियो । अहिले अवस्था उल्टिएको छ । पहिले उहाँ ग्राहक खोज्दै हिँड्नुहुन्थ्यो, अहिले ग्राहक आफैं उद्योगमै पुगेर मह किन्छन् ।
“केही महिना ग्राहकको विश्वास जित्नै लाग्यो,” उहाँ भन्नुहुन्छ, “अहिले भने ग्राहक आफैं मह खोज्दै घरमा आउँछन् ।”
राईको अनुभवमा व्यवसायको दीर्घकालीन सफलता आकर्षक प्रचारमा होइन, गुणस्तर र इमानदारीमा टिकेको हुन्छ । उहाँका लागि शुद्ध मह नै सबैभन्दा ठूलो ब्रान्ड बनेको छ ।
यद्यपि, मौरीपालन व्यवसाय अझै चुनौतीरहित छैन । बजार व्यवस्थापनसँगै मौरीका लागि पर्याप्त चरण क्षेत्रको अभावले उत्पादनमा असर पारिरहेको उहाँ बताउनुहुन्छ । विशेषगरी चिउरी वनको संरक्षण र विस्तार गर्न सके मौरीपालन व्यवसायले ठूलो फड्को मार्ने उहाँको विश्वास छ ।
“यदी राज्यले चिउरी वनको व्यवस्थापन गरिदियो भने मौरीलाई चरणको समस्या कम हुन्थ्यो र मह उत्पादन पनि बढ्थ्यो,” उहाँले भन्नुभयो, “त्यससँगै उद्यमीले उत्पादन गरेको वस्तुले सहज बजार पाउने वातावरण पनि राज्यले सुनिश्चित गरिदिनुपर्छ ।”
कतारको मरुभूमिबाट मोरङको मौरीघारसम्म आइपुगेको लोकबहादुर राईको यात्रा केवल एक व्यक्तिको सफलता होइन । यो विदेशबाट फर्किएर आफ्नै माटोमा सम्भावना खोज्ने नेपाली युवाका लागि प्रेरणादायी कथा हो । उहाँको जीवनले देखाएको छ, विदेशले कमाइ दिन सक्छ, तर आफ्नो माटोले पहिचान र सन्तुष्टि दिन सक्छ । रासस











