६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्सामा आएको ‘घुम्रपात’ले ४४ किमि



अ+ अ-

बारा । गत चैत १७ गते बारा र पर्सामा आएको विनाशकारी हावाहुरी (टोर्नेडो) पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागले उक्त विनाशकारी हावाहुरी सम्बन्धमा अध्ययन गरी तयार पारिएको प्राविधिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विनाशकारी हावाहुरीको अधिकतम गति १८० देखि २६५ किमि प्रतिघण्टा भएको ‘इएएफ ३ समूह’ रहेको अनुमान गरिएको छ ।

नेपालमा यसअघि त्यस्तो विनाशकारी हावाहुरी आएको कुनै अभिलेख नभएकाले त्यससम्बन्धी प्रतिवेदन तयार गर्न विभागका महानिर्देशक सरजु वैद्यको अध्यक्षतामा विभिन्न संस्थाका विज्ञ प्रतिनिधिसहितको आठ सदस्यीय समिति गठन गरिएको थियो । समितिले नै उक्त टोर्नेडोको नेपाली नामकरण ‘घुम्रपात’ राख्न उपयुक्त हुने निर्णय गरेको थियो ।

समितिले विभिन्न भू–उपग्रहका तस्वीर अध्ययन गर्दा सो ‘घुम्रपात’ २०० देखि ७५० मिटर चौडा रही पर्साको सखुवा–पर्सौनीमा शुरु भई दक्षिण–पूर्वी दिशातर्फ प्रवाह भई बाराको बैरीयासम्म ४४ किमिको दूरी तय गरेको देखिन्छ । समितिले स्थानीय तथा प्रत्यक्षदर्शीसँगको अन्तक्र्रिया र छलफल, फोटो तथा भिडियो, भू–उपग्रहबाट लिइएका तस्वीरको विश्लेषणका साथै भौगोलिक सूचना प्रणाली तथा तथ्याङ्कीय विश्लेषण सफ्टवेयरका आधारमा उक्त ‘घुम्रपात’को पहिचान गरेको महानिर्देशक वैद्यले जानकारी दिनुभयो ।

समितिले मौसमी अध्ययनअन्तर्गत त्यस समयको सतही तथा माथिल्लो वायुमण्डलको मौसमी नक्सा, भू–उपग्रहबाट लिइएका तस्वीर, चट्याङ सञ्जालबाट प्राप्त तथ्याङ्क, मौसम अवलोकन केन्द्रमा रेकर्ड गरिएको वायुको चाप र हावाको गतिको अवस्थाका साथै रेडियोसोण्ड डाटामा आधारित रहेर विश्लेषण गरिएको उहाँले बताउनुभयो ।