काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्कोतर्फबाट मङ्गलबार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो ।
विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा सामाजिक साझेदारमाझ आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती कायमै रहेको बताउनुभयो ।
“नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ । यो चिन्ताको विषय हो”, उपाध्यक्ष पाण्डेले भन्नुभयो, “लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ ।”
परिवर्तित विश्वपरिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्मजस्ता डिजिटल सेवामा युवाको संलग्नता तीव्र रूपमा बढिरहेको बताउनुभयो । यसले उद्यमशीलताका नयाँ अवसर ल्याए पनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयमा नयाँ बहस सिर्जना गरेको उहाँको भनाइ थियो ।
नेपालजस्ता विकासशील देशलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्थाअनुरूप श्रम सुधार एवं कानुनी व्यवस्था लागू गर्न आवश्यक लचकता दिनुपर्नेमा उपाध्यक्ष पाण्डेको जोड थियो । उहाँले नेपाली रोजगारदाताका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकता र कार्यान्वयन भइरहेका प्रयासको विवरण प्रस्तुत गर्नुभयो ।
राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदातामा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन तथा व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको बताउनुभयो । यसअन्तर्गत चिया र अलैँचीजस्ता क्षेत्रमा विशेष निर्देशिका निर्माण गरी प्रारम्भिक कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
यसका साथै, महासङ्घले छनोट गरिएका उद्योगमा ‘केयर मोडल’ को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको भन्दै उपाध्यक्ष पाण्डेले विशेषगरी महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि तथा जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्यसम्बन्धी विश्वव्यापी छलफलमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपालजस्ता मुलुकलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न तथा आपसी संवाद सुदृढ बनाउन रोजगारदाताको भूमिका महत्वपूर्ण हुने उपाध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो ।
उहाँले उद्यमको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गर्नुभयो । महासङ्घ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै उपाध्यक्ष पाण्डेले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि तथा श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।










