काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले) नेतृ रामकुमारी झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि उठेका आरोपहरूको निष्पक्ष छानबिन संसद वा संसदले गठन गरेको स्वतन्त्र समितिबाट हुनुपर्ने बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आरोप लागेको व्यक्तिले स्वयं छानबिन प्रक्रिया सञ्चालन गर्नु उपयुक्त नहुने उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानको आवश्यकता औँल्याउनुभएको हो।
“तपाईंलाई आरोप लागेको छ, तपाईंमाथि प्रश्न उठेको छ। त्यसैले तपाईंमाथि छानबिन हुनुपर्छ। तर तपाईंले छानबिन गराउने होइन,” झाँक्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
उहाँले अर्थमन्त्रीमाथि लागेको आरोपको सत्यतथ्य बाहिर ल्याउन संसद वा संसदले गठन गरेको स्वतन्त्र समितिमार्फत छानबिन गरिनुपर्ने बताउँदै आवश्यक प्रक्रिया तत्काल अघि बढाउन आग्रह गर्नुभएको छ।
झाँक्रीले वाग्ले विगतमा योजना आयोगको सदस्य तथा उपाध्यक्षका रूपमा राज्य संयन्त्रभित्र रहेर काम गरेको स्मरण गराउँदै बजेट तथा आर्थिक नीतिका विषयमा विपक्षमा रहँदा पटक–पटक प्रश्न उठाउने व्यक्तित्व रहेको उल्लेख गर्नुभएको छ।
“हिजो जे–जे बेथिति थिए भन्नुहुन्छ, तपाईं पावर पोलिटिक्सको नजिक र राज्य संयन्त्रमै हुँदा योजना आयोगको सदस्य र उपाध्यक्ष हुँदै त्यो प्रणालीभित्रको चलायमान र जान्ने खेलाडी हुनुहुन्थ्यो,” उहाँले लेख्नुभएको छ।
विपक्षी बेन्चमा रहँदा बजेट तथा आर्थिक व्यवस्थापनका विषयमा वाग्लेले सार्वजनिक रूपमा गरेका टिप्पणी र अभिव्यक्तिहरू अहिले पनि उपलब्ध रहेको उल्लेख गर्दै झाँक्रीले हाल उठेका प्रश्नहरूलाई सामान्य रूपमा लिन नहुने बताउनुभएको छ।
“अरू कसैले गरेको आर्थिक अपराध, संगठित अपराध वा प्रणाली खरिद गरेको मानिने, तर तपाईं अर्थमन्त्रीको हैसियतले गरेको कामलाई ‘नयाँ’ को नाममा सामान्यीकरण गर्न मिल्दैन,” उहाँले उल्लेख गर्नुभएको छ।
झाँक्रीले अर्थमन्त्रीमाथि उठेका आरोपहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्नेमा जोड दिँदै त्यसबाट मात्र जनविश्वास कायम रहने बताउनुभएको छ।











