काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन प्रवर्द्धन तथा आर्थिक संरचनामा व्यापक सुधार ल्याउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताउनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले विगतमा देखिएको नीतिगत तहको ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेट अन्त्य गर्ने दिशामा सरकार दृढतापूर्वक लागेको उल्लेख गर्नुभयो।
अर्थमन्त्री वाग्लेले पुराना अभ्यासबाट लाभ लिइरहेका केही समूह अहिले भ्रम फैलाउन सक्रिय भएको भन्दै त्यसलाई “अन्तिम छटपटी” को संज्ञा दिनुभयो। अबको अर्थतन्त्र प्रतिस्पर्धा र समान अवसरमा आधारित हुने भएकाले यस्ता प्रवृत्ति धेरै समय टिक्न नसक्ने उहाँको भनाइ थियो।
उहाँले नियामक निकायहरूमा स्वच्छ, सक्षम र इमानदार व्यक्तिहरूको नेतृत्व स्थापित गरिने बताउँदै राजनीतिक तथा आर्थिक संरचना कुनै व्यक्ति विशेष वा भ्रष्ट प्रभावको नियन्त्रणमा रहने अवस्था अन्त्य हुने दाबी गर्नुभयो।
अर्थमन्त्री वाग्लेले विचार, सीप र प्रतिभा भएका नागरिकले अब लाइसेन्स वा अनुमति प्राप्त गर्न शक्ति केन्द्रको पछि धाउनुपर्ने बाध्यता हट्ने बताउनुभयो। निजी क्षेत्रलाई आफ्नो पुँजी, क्षमता र सिर्जनशीलताको आधारमा विस्तार हुने वातावरण सिर्जना गरिने तथा नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
उहाँका अनुसार आगामी बजेटमार्फत सुशासनलाई नागरिकको घरदैलोसम्म पुर्याउन ‘माइक्रो डेलिभरी’ मा विशेष जोड दिइएको छ। नागरिक एपलगायत डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाह विस्तार गरी विचौलियाको भूमिका अन्त्य गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
“सरकारी कार्यालय धाउन नपर्ने, कर्मचारी वा विचौलियालाई अतिरिक्त रकम तिर्न नपर्ने गरी नागरिक एपमा सयौँ सरकारी सेवा आबद्ध गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो।
अर्थमन्त्री वाग्लेले सुशासनलाई केवल नारामा सीमित नराखी संस्थागत संस्कृतिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। डिजिटल सेवाको विस्तार, पारदर्शिता र उत्तरदायित्वमार्फत नागरिकमैत्री शासन प्रणाली निर्माण गर्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँले आगामी बजेट उद्यममैत्री रहेको उल्लेख गर्दै निजी क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो।











