७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती करणी उद्योगमा महराविरुद्ध मुद्दा दर्ता: सात वर्ष कैद सजायको माग



अ+ अ-

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । संघीय संसद्मा कार्यरत एक महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगमा महराविरुद्ध मुलुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसुर गरेको अभियोगको मागदाबी गरिएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ । तर, दफा ३४ को ३ मा कसुरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुनेछ । यसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध साढे ३ वर्षदेखि पाँच वर्षको कैद सजाय माग दाबी गरेको छ । महरा सार्वजनिक ओहोदामा बसेको व्यक्ति भएकाले उनलाई थप बढी सजाय माग दाबी गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार महराले सरकारी ओहोदामा रहेर करणी उद्योग गरेको हुँदा उनीविरुद्ध डेढ गुणा बढी सजायको माग गरिएको छ । महराले संघीय संसद्को सभामुखको दुरुपयोग गरी कसुर गरेकाले उनीविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन दफा १५ को उपदफा २ को (ङ) को बमोजिम थप सजाय पनि माग गरिएको सहन्यायाधिवक्ता खनालले जानकारी दिए । सरकारी वकिल कार्यालयले यी दुवै कसुर जोडेर पाँचदेखि सात वर्षसम्म कैद सजाय हुनुपर्ने माग दाबी रहेको छ ।

मुद्दा दर्ता भएसँगै महरालाई शुक्रबार अदालतमा बयानका लागि उपस्थित गराइनेछ । ‘बिहीबार महराको बयान गर्न समय नभएपछि शुक्रबार ११ बजेपछि बयान सुरु हुनेछ,’ काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘उनको बयान नसकिए आइतबारसम्म मुद्दाको पेसी सर्न सक्नेछ ।’ महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएसँगै शुक्रबार अदालतले गोलाप्रथाबाट एक न्यायाधीशलाई इजलास तोक्नेछ ।

शुक्रबार महराको बयान पूरा भएर थुनछेक बहस भए धरौटीमा छाड्न सक्ने, पुर्पक्षका लागि जेल चलान गर्ने या सामान्य तारेख यी तीनमध्ये एउटा आदेश अदालतले गर्नेछ । महरालाई जबर्जस्ती करणी उद्योगमा महिलाको उजुरी परेपछि सभामुख निवासबाटै १९ असोजमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि पटकपटक म्याद थप गरेर २० दिनभन्दा बढी प्रहरीले महरामाथि अनुसन्धान गरी कैद तथा जरिमाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो ।

अनुसन्धानमा महराले प्रहरीलाई आफूले संसद् कार्यालयकी ती कर्मचारीमाथि बलात्कार प्रयास नगरेको बयान थिए । आफ्नो चिनजानको मान्छे भएको तर बलात्कारको प्रयास नभएको र ती महिलाको कोठामा नपुगेको बयान प्रहरीलाई दिएका थिए । पीडित भनेकी महिलाले आफू कहाँ आएर महराले जबर्जस्ती करणी प्रयास गरेको भन्दै सार्वजनिक अन्तर्वार्ता दिएकी थिइन् । घटना सार्वजनिक भएपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।

के छ अभियोगपत्रमा ?सभामुखजस्तो गरिमामय पदमा आसीन प्रतिवादीले आफ्नो पदको दुरुपयोग गरी १२ असोजमा निजले सरकारले उपलब्ध गराएको जिम्मेवार सुरक्षाकर्मीलाई निवासबाट बाहिरिँदा यकिन जानकारी नदिएको उल्लेख छ । सभामुखले आफ्नो हैसियतको कुनै हेक्का नराखी सोको संवेदनशीलताप्रति बेवास्ता गरी, केही सुरक्षाकर्मी मात्र लिई साँझ मादकपदार्थ सेवन गरी, साथमा रक्सी रहेको बोतल आफ्नो साथमा लिई, पीडित एक्लै रहेको निजको डेरामा गई निजलाई जबर्जस्ती मादकपदार्थ सेवन गर्न कर लगाई गराई अनुचित प्रभावमा पारी पीडितलाई जबर्जस्ती करणी गर्न खोजेको’ आरोपपत्रमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीका असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हबल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको आरोपपत्रमा उल्लेख छ । आरोपपत्रमा शाहीकी घरबेटीले बयान दिन इन्कार गरेको बताइएको छ । त्यस्तै, पीडक र पीडित दुवैले मोबाइल सेट दिन इन्कार गरेको समेत उल्लेख छ । प्रहरीसमक्ष आरोपित महराले रिसको झोकमा आफूले मोबाइल फुटाइदिएको उल्लेख गरिएको छ । राजधानी दैनिकबाट