११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा

होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
फाइल फोटो
अ अ+ अ-

काठमाडाैँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरको राधास्वामी सत्सङ्ग परिसरस्थित होल्डिङ सेन्टरमा भेटिएका डम्बर तामाङलाई अब जीवन नयाँ तरिकाले अघि बढ्छ भन्ने लागेको छ । उहाँ सधैँ यस्तै त नहोला भनेर अहिले ढुक्क हुन थाल्नुभएको छ । होस् पाएदेखि आफू बसेको थापाथलीको बागमती किनारमा हरेक वर्षायाममा हुने त्रासदी उहाँलाई अहिले पनि याद आउँछ । हरेक वर्ष पानी पर्न थालेपछि बागमतीले सातो लिन थाल्थ्यो । परिवारसहितको बास त थियो त्यो, तर स्वामित्व भने थिएन ।

बास भएर के गर्नु ? देशका कुनै पनि निकाय वा कानुनले नचिन्ने । पानी, बिजुली बाटो घाटो सबै अनौपचारिक । ढल र फोहरमैला सिधैँ नदीमा । हिँउदभरि उपत्यकावासीको प्रदूषण लिएर बग्ने बागमतीले डम्बरसहितका सुकुमवासीलाई कतिथरी रोग दिएर जान्थ्यो, त्यहाँ बसुञ्जेल कसैलाई पत्तो नहुने । अहिले होल्डिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण हुँदा पो धेरैलाई थाहा भएको छ, बागमती किनारको बसाइँले शरीरमा कहाँ कहाँ समस्या पारेको छ ? कति रहेछ रोग भन्ने कुरा ।

सुकुमवासीको सङ्कलित तथ्याङ्कले बताएको छ, खोला किनारको जीवन कत्ति जोखिममा थियो । सेन्टरमा जानुअघि दशरथ रङ्गशालामा ४९७ जनाको स्वास्थ्य परीक्षण गर्दा झण्डै ३० प्रतिशतमा उच्च रक्तचाप, १५ प्रतिशतमा मधुमेह देखिएको थियो । त्यस्तै १६ प्रतिशतमा मांशपेशीसम्बन्धी समस्या, १३ दशमलव पाँच प्रतिशतमा ग्याष्ट्रिक, सात प्रतिशत मानसिक समस्या र श्वासप्रश्वाससम्बन्धी समस्या चार दशमलव पाँच प्रतिशतमा देखिएको थियो । सेन्टरमा पुगेपछि प्रायः सबैको स्वास्थ्य परीक्षण भयो र समस्याको अङ्क झन् बढ्यो । तर सेन्टरमा समस्या मात्र उजागर भएको छैन, उपचार पनि सुरु भएको छ र निरन्तर अहिले पनि चलिरहेकै छ ।

चिकित्सकले तथ्याङ्कमा समेटेकामध्ये साढे ३८ प्रतिशतको परिवारका कोही न कोही सदस्यको मृत्यु खोला किनारको बसाइँका क्रममा भएको देखियो । जसमध्ये बाढी र डुबान तथा पुल, सडक र इनारमा भएका दुर्घटनाबाट झण्डै साढे नौ प्रतिशतले ज्यान गुमाए । दम र निमोनियाबाट आठ प्रतिशत र सरसफाइजन्य सरुवा रोग जस्तै क्षयरोग, डेङ्गु र टाइफाइडबाट आठ प्रतिशत मृत्यु भएको पाइयो ।

यसका अधिकांश कारक खोला किनारको जोखिमपूर्ण जीवन थियो । प्रदूषित खानेपानी, फोहर र फोहरजन्य पानी जमिरहने स्थानमा दैनिकी गुजार्ने सुकुमवासीमा लामखुट्टेलगायतले सार्ने किटजन्य सरुवा रोग फैलनु स्वाभाविकै हो । सुकुमवासी राखिएका छवटै होल्डिङ सेन्टरमा चिकित्सा टोलीको नेतृत्व गर्नुभएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाका अनुसार मुटुरोग, क्यान्सर र उच्च रक्तचापजस्ता नसर्ने रोगहरुका कारण पनि २८ प्रतिशतको मृत्यु भएको छ ।

अहिले पनि पाटन अस्पताल, प्रसूति गृह, लगनखेलस्थित मानसिक अस्पतालका चिकित्सकसहितको उक्त टोलीले थप परीक्षण र उपचारलाई तीव्रता दिएका छन् । त्यसो त होल्डिङ सेन्टरका डम्बरलाई रेटिनाको समस्याले गर्दा मसिनो (सानो) वस्तु देख्न र पढ्न गाह्रो छ । अहिले जत्तिकै नियमित स्वास्थ्य परीक्षण त्यतिबेलै गर्न पाएको भए समस्या त्यति जटिल नहुन पनि सक्थ्यो । सेन्टरमा आएका चिकित्सको परामर्शपछि उहाँ त्रिपुरेश्वस्थित आँखा अस्पताल जानुभयो । त्यहाँका चिकित्सकले तिलगङ्गा ‘रेफर’ गरेका छन् ।

अब त्यतै गएर उपचार गराउने सुरमा हुनुहुन्छ उहाँ । थापाथलीमा डम्बर जस्ता सयौँ छन्, जसलाई जीवन भनेकै बागमतीको किनारको बसोबास भन्ने लागेको थियो । अहिले सबैलाई घरबाट निस्किएर चौबाटोमा बसे जस्तो भएको छ । सरकारले कतै न कतै त पक्कै व्यवस्था गर्ला, उहाँ भन्नुहुन्छ । डम्बर की पत्नी र छोराछोरीको स्वास्थ्य परीक्षण पनि त्यहीँ भएको छ । पत्नीलाई मुटुसम्बन्धी समस्याका लागि अस्पताल जान पनि स्वास्थ्यकर्मीले सुझाएका छन् । करिब २० वर्ष थापाथलीमा बिताएकी ५० वर्षे पुनम मगरलाई थापाथलीमै बस्दा उच्च रक्तचाप, मधुमेह र नशाको समस्या थियो । समस्या बढेपछि सेन्टरकै पहलमा आकस्मिक उपचार गराइएको उहाँले बताउनुभयो ।

धेरैथरीको स्वास्थ्य परीक्षण यहाँ भयो र उपचार गर्न अस्पताल गइयो”, उहाँले भन्नुभयो । त्यहाँबाट अस्पताल पुगेपछि भने महँगो औषधी आफैँ किन्नुपर्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो । अर्का सुकुमवासी खिमबहादुर पुलायामगरले अस्पताल पुगेपछि औषधी सबै नपाउने र कतिपय रोगको उपचार केही खर्चिलो देखिए पनि सेन्टरमा आएका स्वास्थ्यकर्मीसँग भने सुकुमवासीको कुनै गुनासो नरहेको बताउनुभयो ।

होल्डिङ सेन्टरका सुकुमवासीमध्ये कतिपय दीर्घरोगी छन् । जसको नियमित स्वास्थ्य परीक्षण थापाथलीस्थित खोला किनारमा बस्दा सम्भवै थिएन । सुत्केरी र साना बच्चा हुर्काइरहेका आमाहरूले नियमित स्वास्थ्य परीक्षण र परामर्शमात्र होइन, नवजात सन्तानका लागि पोषण पुग्ने गरी लिटोसमेत पाएका छन् । सेन्टरमा भेटिएकी सुवासदेवी पासवानले आफ्नो नातिको स्वास्थ्य परीक्षण र पोषणका लागि लिटोसमेत प्राप्त भएको बताउनुभयो ।

होल्डिङ सेन्टरमा ल्याइएका सुकुमवासीलाई नदीकिनारको दैनिकीले शारीरिकमात्र होइन मानसिक समस्याबाट पनि पीडित बनाएको छ । बारम्बार परीक्षणमा पुगेका चिकित्सकहरुले विगत लामो समयदेखि अव्यवस्थित र असुरक्षित बसाइले दुवैथरी स्वास्थ्यमा पारेको असरलाई नजिकबाट नियालेका छन् । केहीले विगत लामो समयदेखि दैनिकी बिताएको ठाउँ एक्कासी छोडनुपर्दाको दुःख व्यक्त गरेका छन्, तर पनि त्यो भन्दा धेरै असुरक्षित बसोबासका कारण थापाथली किनारमै थुपै्र शारीरिक र मानसिक जटिलताबाट गुज्रिएका रहेछन् भन्ने कुरा मनोविद्हरूसँग उनीहरूले व्यक्त गरिरहेका छन् ।

सुकुमवासीहरूमा पर्नसक्ने मानसिक समस्याको पहिचान र उपचारका लागि छवटै होल्डिङ सेन्टरमा विशेषज्ञसहितका टोलीसहित धेरैपटक पुग्नुभयो, मानसिक अस्पताल पाटनका मनोचिकित्साविद् सुलभराज उप्रेती । उहाँले भन्नुभयो, “थापाथलीको जोखिमपूर्ण बसोबासलाई जीवन ठानेर बसेकालाई केही असहज लाग्नु स्वभाविक हो । तर त्यस्तो बसोबासका कारण थुपै्र मनोवैज्ञानिक जटिलता देखिन्छन् । यस्ता व्यक्ति ठूलो सङ्ख्याका भेटिनुहुन्छ ।” मनोस्वास्थ्यका समस्या रहेको थाहा पाएपछि चार जना विज्ञ र केही मनोविज्ञान अध्येता सम्मिलित टोलीले छवटै शिविरका गरी ६०० भन्दा बढी व्यक्तिसँग छुट्टाछुट्टै बसेर परामर्श पनि भएको थियो ।

“हामीले सबैसँग कुरा गर्दा ठाउँ सर्नुपर्दाको असजिलोसँगै अब केही होला, सरकारले राम्रो व्यवस्था गर्ला भन्ने अपेक्षा गर्नेको सङ्ख्या पनि उल्लेख्य थियो”, मनोचिकित्साविद् उप्रेतीले भन्नुभयो । कुराकानीबाट आएको निष्कर्षका आधारमा कतिपयलाई मनोसामाजिक परामर्श, सहायता र कतिपयलाई औषधि उपचारको आवश्यकता रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार परामर्श र सहायता पछि थुपै व्यक्ति आफ्नो नियमित काममा फर्किनसमेत थालेका छन् । आफ्ना सन्तानको पढाइलाई लिएर चिन्ता परेको र उहाँहरुलाई पनि नजिकको विद्यालयमा बालबालिका जान थालेपछि चिन्ता कम हुँदै गएको पाइएको जानकारी पनि उहाँले दिनुुभयो । मनोसामाजिकविद्हरूको टोलीले ५५३ सुकुमवासीको मानसिक स्वास्थ्य परीक्षण र परामर्शबाट थाहा पायो, विस्थापनअघि देशभर कतै पनि बास नभएका कारण खोला छेउ बस्न बाध्य परिवार ८२ दशमलव आठ प्रतिशत रहेछन् ।

तीमध्ये तीन पुस्तै त्यहाँ बिताएको परिवार २४ दशमलव छ प्रतिशत छ । मानसिक समस्याकै कारण तीन दशमलव तीन प्रतिशत आत्महत्याबाट र मदिराजन्य समस्याबाट तीन दशमलव तीन प्रतिशतले जीवन गुमाएका पाइएको मनोसामाजिकविद्हरू बताउँछन् । त्यसरी खोलाछेउ बस्दा शान्ति त जीवनमा छँदै थिएन् । फलस्वरुप १०० मध्ये करिब १२ जनाले आत्महत्याको सोचसमेत बनाउन पुगेका रहेछन् । त्यस्तै सयमध्ये सात जनालाई विशेषखालकै मनोरोग सेवा आवश्यकपर्ने अवस्था रहेछ । तथ्याङ्कले यो तस्बिर दिएपछि चिकित्सकको टोलीले छवटै होल्डिङ सेन्टरमा नियमित मनोरोग परामर्श दिँदै आएको छ । यसले खोला किनारको असुरक्षित जीवनबाट आकस्मिक रुपमा होल्डिङ सेन्टर आइपुगेका सुकुमवासीको मनमा अबका उज्याला दिनको आशा पलाएको मनोचिकित्सकहरूले महशुस गरेका छन् ।

यसक्रममा मनोचिकित्सकसँग आफ्नो विगतबारे खुलेर कुरा गरे सुकुममवासीहरूले । बाहिरबाट हेर्दा नदीकिनारमा जोखिमपूर्ण जीवन बिताउनेहरूलाई त्यो सामान्य लाग्थ्यो र होल्डिङ सेन्टरको जीवन विश्मयपूर्ण । तर सँगै अब जीवनले नयाँ मोड लिने आशामा अधिकांश सुकुमवासी छन् । सुकुमवासीलाई होल्डिङ सेन्टरमा सारेको दिनदेखि नै हरेकसँगको कुराकानी, उनीहरूका समस्या पहिचान र त्यसको विश्लेषणमा पनि कर्मचारी खटिरहेका छन् ।

त्यसमा संलग्न प्रधानमन्त्रीको कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले भन्नुभयो, “सुकुमवासीका रोगमात्र पत्ता लगाएका छैनौँ, रोगको अवस्था र प्रकृतिअनुसार उपचार र परामर्श पनि निरन्तर भइरहेको छ ।” यही तथ्याङ्कको आधारमा क्यान्सर, निमोनियाजस्ता जटिल रोगका बिरामीको उपचार राजधानीका विभिन्न अस्पतालमा भइरहेको र यस्तो जटिलता थप सुकुमवासीमा देखिएमा उपचारको प्रबन्ध गरिने पनि उहाँले बताउनुभयो ।