२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोण



अ+ अ-

२०२६ मे ४ को गर्मिलो साँझ, विश्व वातावरण दिवस २०२६ मनाइरहँदा नेपालले सामना गरिरहेको प्रमुख वातावरणीय चुनौतीहरूमध्ये वन डढेलो पनि एक हो। हरेक वर्ष हजारौं हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित हुने गरेको छ। जलवायु परिवर्तनसंग सम्बन्धित बढ्दो तापक्रम, लामो खडेरी अवधि तथा मानवीय गतिविधिका कारण वन डढेलोको जोखिम निरन्तर बढ्दो क्रममा रहेको छ।

यद्यपि वन डढेलोबारेको अधिकांश बहस मौसमीय अवस्था र मानवीय कारणहरूमा केन्द्रित हुने गरेको छ। तर वनको भौगोलिक संरचना र भू–दृश्य स्वरूप (Landscape Structure) ले डढेलोको व्यवहारलाई कसरी प्रभाव पार्छ भन्ने विषयमा विश्वमै अध्ययन अत्यन्त सीमित छन् भने, नेपालमा त यो क्षेत्र अझै पनि प्रायः अन्वेषणविहीन अवस्थामा रहेको छ।

प्रकाश तिवारी तथा समूह द्वारा तराई क्षेत्रमा गरिरहेको एक अध्ययनले वन डढेलोको तीव्रता, मौसमीय अवस्था, मानव प्रभाव तथा वनको भू-दृश्य संरचनाबीचको सम्बन्धलाई बुझ्ने प्रयास गरेको छ। अध्ययनले नेपालका तराई क्षेत्रका विभिन्न वन क्षेत्रहरूलाई ५×५ किलोमिटरका ग्रिडहरूमा विभाजन गरी सन् २००५ देखि २०२१ सम्मका तथ्यांकहरूको विश्लेषण गरेको छ।

अनुसन्धानको मुख्य उद्देश्य वन डढेलोको तीव्रता केवल मौसम र मानव गतिविधिले मात्र निर्धारण गर्छ कि वनको संरचना र बनोटले पनि महत्वपूर्ण भूमिका खेल्छ भन्ने प्रश्नको उत्तर खोज्नु हो। यसका लागि मोडिस तथा भिर्स भू-उपग्रहबाट प्राप्त डढेलोसम्बन्धी तथ्यांक, फायर वेदर इन्डेक्स, मानविय प्रभाव सूचकांक तथा भूमि उपयोग तथा भू–आवरण (Land Use and Land Cover) मार्फत विकास गरिएको भू-दृश्य स्वरूपहरुको (landscape Metrices)  तथ्यांक प्रयोग गरिएको छ।

प्रारम्भिक विश्लेषणले वनका ठूला र निरन्तर क्षेत्रहरूमा डढेलोको तीव्रता उच्च रहने तथा आगो तीव्र रूपमा फैलिने गरेको देखाएको छ। वनका प्याचहरुको आकार, वनको भित्री भाग (Core Area), वनको किनार क्षेत्र (Edge) तथा वन खण्डीकरण (Fragmentation)को अवस्था डढेलोको स्वरूपसँग प्रत्यक्ष्य सम्बधित भएको पाइएको छ।

यसले वन व्यवस्थापनमा केवल वन क्षेत्रफल बढाउनु मात्र पर्याप्त नहुने, वनको संरचना र स्थानिक वितरणलाई पनि ध्यान दिनुपर्ने सन्देश दिन्छ। त्यसैगरी, अध्ययनले मौसमीय अवस्थाको प्रतिनिधित्व गर्ने फायर वेदर इन्डेक्स र मानव प्रभाव सूचकांक दुवैले वन डढेलोको जोखिममा निरन्तर प्रभाव पारेको देखिन्छ। बढ्दो तापक्रम, कम आर्द्रता, हावाको गति र वर्षाको कमीले वनलाई डढेलोप्रति संवेदनशील बनाउँछ भने सडक, बस्ती, वनभित्रको पहुँच तथा अन्य मानवीय गतिविधिले आगलागीको सम्भावना बढाउन सक्छ।

नेपालको तराई क्षेत्र जैविक विविधता, वन्यजन्तु आवास तथा स्थानीय समुदायको जीविकोपार्जनका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो। तर यही क्षेत्र वन डढेलोको उच्च जोखिममा पनि रहेको छ। त्यसैले वन डढेलो व्यवस्थापनलाई परम्परागत डढेलो नियन्त्रणको दृष्टिकोणबाट मात्र हेर्ने नजर अब परिवर्तन गर्न आवश्यक छ। आधुनिक प्रविधि, भू–स्थानिक विश्लेषण, उपग्रह तथ्यांक तथा वैज्ञानिक अनुसन्धानका आधारमा जोखिम मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नु आवश्यक छ। वनको आकार, खण्डीकरण, किनार क्षेत्र र कोर क्षेत्र जस्ता भू-दृश्य सूचकहरूलाई वन डढेलो पूर्वानुमान तथा व्यवस्थापन योजनामा समावेश गर्न सकिएमा जोखिम पहिचान र रोकथामका उपायहरू अझ प्रभावकारी बन्न सक्छन्।

वन डढेलोले जैविक विविधतामा गम्भीर क्षति पुर्‍याउनुका साथै विषाक्त वायु उत्सर्जनमार्फत जलवायु परिवर्तनलाई समेत प्रभाव पार्छ। प्राकृतिक श्रोतमा आश्रित नेपालजस्तो देशका लागि यसको प्रभाव केवल वातावरणीय मात्र नभई सामाजिक र आर्थिक रूपमा पनि गहिरो हुन्छ।

यस वर्षको विश्व वातावरण दिवस २०२६ को विश्वव्यापी नारा “Inspired by Nature. For Climate. For Our Future.” तथा नेपालमा “समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ। यी नाराहरूले वातावरण संरक्षणलाई समग्र, प्रणालीगत र विज्ञान–आधारित दृष्टिकोणका साथ अघि बढाउन स्पष्ट सन्देश दिन्छन्। यसले निर्णय प्रक्रियामा प्रमाण–आधारित विश्लेषण, दीर्घकालीन जोखिम मूल्याङ्कन, र पारिस्थितिक प्रणालीको समग्र कार्यप्रणालीलाई केन्द्रमा राख्न जोड दिन्छ। साथै, वातावरणीय व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत समन्वय, नवीन प्रविधिको उपयोग, र अनुकूलन क्षमताको सुदृढीकरण अपरिहार्य रहेको कुरालाई समेत उजागर गर्छ।

बढ्दो जलवायु जोखिमका बीच वन डढेलो व्यवस्थापनमा नवीन सोच, अनुसन्धान र प्रविधिको प्रयोग अत्यावश्यक बनेको छ। प्रारम्भिक पहिचान, जोखिम मूल्याङ्कन र द्रुत प्रतिक्रिया प्रणालीजस्ता उपायहरूले डढेलो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। वन संरक्षणको अर्थ केवल रुख जोगाउनु मात्र होइन; जैविक विविधता, जलस्रोत, माटोको स्वास्थ्य र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि हो। त्यसैले वन डढेलोप्रतिको हाम्रो बुझाइ र दृष्टिकोणलाई समयानुकूल परिवर्तन गर्दै जलवायु परिवर्तन प्रतिकार्यसँग जोड्नु आजको आवश्यकता हो।

लेखक तथा अनुसन्धानकर्ता एकीकृत भू-परिधि व्यवस्थापन आयोजना (ILaM Project) मा अनुगमन तथा मूल्यांकन अधिकृतका रुपमा कार्यरत छन् ।