५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

राजनीतिक पहुँचवालालाई अनुदान, कर्मचारीले लिए कमिसन

राजनीतिक पहुँचवालालाई अनुदान, कर्मचारीले लिए कमिसन
अ+ अ-

बुटवल । प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको करोडौं अनुदान रकम दुरुपयोग भएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गत आर्थिक वर्षमा वितरण गरेको अनुदान पाउनेमा गैरकिसान धेरै परेका छन्। प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुगमनमा कैयन् फर्जी किसान फेला पारेको हो। अनुदान पाउनेमा अधिकांश सम्पन्न परिवार र राजनीतिक पहुँचवाला छन्।

त्यस्ता किसानलाई अनुदान वितरण गर्दा कर्मचारीले २० प्रतिशतसम्म कमिसन लिएको प्रमाण फेला परेको छ। गत वर्ष मन्त्रालयले पौने २ अर्ब अनुदान बाँडेको थियो। प्रदेश सरकारले कृषि यान्त्रीकरण, स्मार्ट कृषि गाउँ कार्यक्रम, फलफूल उत्पादन, दुग्ध उत्पादन तथा बिउबिजन उत्पादनमा अनुदान बाँडेको छ। प्रदेशकै नमुना कार्यक्रम भनिएको स्मार्ट कृषि गाउँ कार्यक्रममै अनुदान पचाउने काम भएको अनुगमन टोलीले जनाएको छ।

अर्घाखाँची शीतगंगा नगरपालिका–१० का किसान यमलाल आचार्यले गत वर्ष ३७ लाख अनुदान पाएका छन्। उनले कागती खेतीका लागि २५ लाख पाएका छन्। अन्य रकम मौरी, नर्सरी, बाख्रापालनका लागि लिएका हुन्। उनका जग्गामा एकाध कागतीका बोट देखिन्छन्। अनुगमनमा पुगेका एक सांसद भन्छन्, ‘अनुदानका लागि मात्रै कृषिखेती गरिएको देखाइएको छैन। सरकारले लगानी गरेको प्रतिफल आउँदैन।’ आचार्यले जमिन भाडामा लिएको ५० प्रतिशत रकमसमेत प्रदेश सरकारबाटै भुक्तानी हुन्छ।

गुल्मी छत्रकोटको ढुंगे देउराली बागवानीलाई प्रदेश सरकारले कागती खेतीका लागि १३ लाख अनुदान दिएको छ। त्यहाँ २५० बोट कागती रोपिएका छन्। सरकारी ढुकुटीबाट प्रतिबोट ५ सय २० रुपैयाँ खर्च भएको छ। तर उत्पादन हुने सम्भावना देखिँदैन। अनुगमनमा पुगेका सांसद कमलराज श्रेष्ठले भने, ‘न कुनै संरचना बनेको छ, न त कुनै खेती। खेती नै नगर्नेहरुले धेरै अनुदान पाएको भेट्टायौं।’ कपिलवस्तुका राजेशकुमार चौधरीले भैंसीपालनका लागि ९ लाख अनुदान पाए। तर गोठमा भैंसी नै छैनन्। कागजमा ९ वटा भैंसीको बिमा गरिएको छ।

कपिलवस्तुकै जावेद आलम खानको गोठमा समेत सम्झौताअनुरुप गाई छैनन्। उनले प्रदेश सरकारबाट ५ लाख बढी अनुदान पाएका छन्। संसदीय अनुगमन समितिले यस्ता कैयन् कृषि फार्म देखाएर अनुदान लिने काम भएको प्रतिवेदन तयार पारिरहेको छ। समितिले १२ वटै जिल्लामा ५ वटा उपसमिति बनाएर अनुगमन गरेको थियो। किसानले आफूसँग २० प्रतिशत कमिसन मागिएको गुनासो गरेका छन्।

कमिसन नदिँदा मन्त्रालयका कर्मचारीले अनुदान रकमसमेत घटाएको किसानले बताएका छन्।समिति सभापति विजयबहादुर यादवले खास किसानले अनुदान पाउन नसकेको बताए। ‘जसले नमुना खेती गरिरहेका छन्, उनीहरुले अनुदान पाएकै छैनन्, जसले अनुदान पाएका छन् उसको खेती नै देखिँदैन’, उनले भने। रुकुम, प्युठान, रोल्पा, अर्घाखाँचीमा कृषि उपज ढुवानीका लागि अनुदानबाट खरिद गरिएका गाडीमा ढुंगागिट्टी र मान्छे बोक्ने गरिएको छ। ती साधन व्यक्तिका नाममा रहेको समिति सदस्य चेतनारायण आचार्यले बताए।

‘अनुदानबाट खरिद गरिएका गाडीमा ढुंगागिट्टी र बालुवा ढुवानी हुँदो रहेछ। किसानले त उपयोग गर्न पाएकै छैनन्’, उनले भने। कृषि मन्त्रालयले गत वर्ष पौने २ अर्ब अनुदान वितरण गरेको थियो। मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले भने गैरकिसानले अनुवादन नपाएको दाबी गरे। ‘अनुदान पाउन चार/पाँच हजार किसानले आवेदन दिन्छन्। पाँच/छ सयले मात्रै पाउँछन्। नपाउनेले गैरकिसानले अनुदान पाएको अरोप लगाउँछन्’, उनले भने।

गत वर्ष कृषि मन्त्रालयका लागि ४ अर्ब ५ करोड बजेट बिनियोजन भएको थियो। यस वर्ष पनि अनुदानका कार्यक्रम यथावत् छन्। प्रदेशले स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रत्येक पकेट क्षेत्रमा ५० लाख विनियोजन गरेको छ। यी गाउँले पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ४० लाख र तेस्रो वर्ष ३० लाख अनुदान पाउँछन्। संसदीय समितिको प्रारम्भिक प्रतिवेदनअनुसार स्मार्ट कृषि गाउँ कार्यक्रम पनि प्रभावकारी छैन।

समितिका सदस्य कविराम थारूले भने, ‘यो त राज्य कोषको चरम दुरुपयोग हो। कि सुधार्नुपर्छ नत्र तत्काल रोक्नुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिकबाट