२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसकी प्रमुख सचेतक थापाकाे प्रश्न : नेपालले भारतको सीमा कहाँ मिच्यो ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत–नेपाल सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट विवरण माग गरेको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भारतले मात्र नभई नेपालले पनि भारततर्फ सीमा मिचेको उल्लेख गरेका थिए ।

त्यसै अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ र कुन आधारमा मिचिएको हो भन्ने विषयमा सरकारसँग स्पष्ट जानकारी दिन माग गरेकी छन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले भारतले मात्रै होइन, नेपालले पनि भारतको सीमा मिचेको भन्नुभयो । नेपालले कहाँ मिचेको हो, त्यसबारे स्पष्ट जानकारी पाउनुपर्छ।’

सचेतक थापाले यदि त्यस प्रकारको कुनै घटना वा प्रमाणित स्थान नरहेको भए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि माग गरेकी छन् ।