५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउस नजिक गोलीकाण्ड



The White House in Washington DC at summer day. The White House is home of the President of the United States of America, Washington DC, USA.
अ+ अ-

काठमाडौं । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उहाँ सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् । युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।

सेक्रेट सर्भिसका प्रहरी अधिकारीहरूले संदिग्धमाथि गोली चलाएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । गोली हानाहानका क्रममा घटनास्थलमा रहेका एक दर्शकलाई पनि गोली लागेको थियो, तर उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी सञ्चारमाध्यमहरूले मारिएका संदिग्धलाई मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्टका रूपमा पहिचान गरेका छन् । रिपोर्टहरूका अनुसार बेस्टको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको इतिहास थियो र यसअघि पनि उनको सेक्रेट सर्भिस सदस्यहरूसँग पटक–पटक सम्पर्क भएको थियो ।

घटनामा कुनै पनि सेक्रेट सर्भिस अधिकारी घाइते नभएको जनाइएको छ । गोलीकाण्डपछि प्रहरी र सुरक्षा बलहरूले ह्वाइट हाउस वरपरको क्षेत्रलाई तत्काल घेरा हालेर नियन्त्रणमा लिएका थिए । नेसनल गार्डका सैनिकहरूले वासिङ्टनको डाउनटाउन क्षेत्रमा आवतजावतमा समेत कडाइ गरेका थिए ।

घटनास्थल नजिक रहेका क्यानाडाली पर्यटक रिड एड्रियनले आफूहरूले सुरुमा आतशबाजी पड्किएको जस्तो आवाज सुने पनि केही क्षणमै ती आवाज गोलीका भएको बुझिएको बताउनुभयो । उहाँका अनुसार त्यसपछि वरपर रहेका मानिसहरू भागाभाग गर्न थालेका थिए ।

त्यस समयमा ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षमा गएर आश्रय लिन निर्देशन दिइएको थियो । एबिसी न्युजकी संवाददाता सेलिना वाङ सामाजिक सञ्जालका लागि भिडियो रेकर्ड गरिरहेकै बेला गोली चलेको थियो र उहाँले उक्त घटनाको आवाज आफ्नो भिडियोमा कैद गर्नुभएको थियो ।

“दर्जनौँ गोली चलेजस्तो महसुस भयो”, उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो । यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत केही समययता भइरहेका कथित सुरक्षा खतराको शृङ्खलासँग पनि जोडिएको देखिएको छ । ७९ वर्षीय ट्रम्प यसअघि तीन अलग–अलग कथित हत्या प्रयासको लक्ष्य बनेको बताइएको छ । सबैभन्दा पछिल्लो घटना अप्रिल २५ मा भएको थियो, त्यस क्रममा एक सशस्त्र व्यक्तिले ट्रम्प मिडिया गालामा भइरहेको कार्यक्रममा सुरक्षा चौकीमाथि आक्रमण गरेका थिए ।

ती व्यक्ति ट्रम्प वा कार्यक्रममा सहभागी पाहुनासम्म पुग्न भने सफल भएका थिएनन् । यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा एक दर्शकको मृत्यु भएको थियो भने तत्कालीन उम्मेदवार ट्रम्पको कानमा सामान्य चोट लागेको थियो ।

त्यसको केही महिनापछि ट्रम्प गल्फ खेलिरहेको फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्सनजिक अर्को सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको थियो । शनिबारको गोलीकाण्डपछि अमेरिकी हाउस रिपब्लिकनहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्प सुरक्षित रहेकोमा राहत व्यक्त गर्दै सेक्रेट सर्भिसको द्रुत प्रतिक्रियाको प्रशंसा गरेका छन् । उनीहरूले राजनीतिक हिंसा अन्त्य हुनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

यसैबीच, ट्रम्पले गत वर्ष पुनः कार्यभार सम्हालेपछि ह्वाइट हाउस परिसरमा निर्माणाधीन नयाँ बलरुम परियोजनाका लागि सुरक्षा आवश्यकतालाई एउटा प्रमुख कारणका रूपमा अघि सार्नुभएको छ । न्युयोर्कका रियल इस्टेट व्यवसायीसमेत रहनुभएका ट्रम्पका अनुसार करिब ४० करोड डलर लागतको उक्त परियोजनामा भूमिगत सैन्य अस्पतालसहित अत्यधिक सुरक्षित तथा ‘ड्रोन–प्रतिरोधी’ संरचना समावेश गरिनेछ ।