१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती
अ अ+ अ-

झापा। राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ । तर, यहाँको एक कम्पनीले भने एउटै जमिनमा दुवै बालीको मिश्रित खेती गरेर नयाँ अभ्यासको थालनी गरेको छ ।

भद्रपुर नगरपालिका ८ र ९ मा सञ्चालित ‘हडिया रियल टि इस्टेट’ले ६० बिघा क्षेत्रफलमा चिया र सुपारीको व्यावसायिक खेती एकसाथ अघि बढाएको हो । चिया र सुपारीको पर्यावरणीय आवश्यकताअनुरुप जलवायु र माटो एकअर्कासँग निकै मिल्दोजुल्दो भएकाले मिश्रित खेती सुरु गरिएको इस्टेटका सञ्चालक भक्ति अधिकारीले जानकारी दिनुभयो ।

“सुपारीको अग्लो बोटले चिया झाडीलाई आवश्यक पर्ने हलुका छहारी दिन्छ”, उहाँले भन्नुभयो, “यसबाट एउटै बगान र एउटै लगानीबाट चिया र सुपारी दुवैको दोहोरो लाभ लिन सकिन्छ ।” झापामा कुनै व्यावसायिक कम्पनीले संस्थागत रूपमै अन्तरबालीका रूपमा यी दुवै बालीको खेती एकसाथ गरेको यो पहिलोपटक हो ।

उक्त बगानमा करिब एक दशकअघि नै चियाका बिरुवा रोपेर उत्पादन लिन थालिएको थियो भने सुपारीका बिरुवा तीन वर्षअघि मात्र थपिएको हो । हाल ६० बिगाहा क्षेत्रफलमा ६० हजार सुपारीका बोटहरू हुर्किरहेका छन् । चियाले लगातार उत्पादन दिइरहेको भन्दै उहाँले सुपारीले भने अबको चार वर्षपछि मात्र उत्पादन दिन थाल्ने बताउनुभयो ।

चिया बगानभित्र सुपारी विस्तारका लागि कम्पनीले रु एक करोड अतिरिक्त लगानी गरिसकेको जनाएको छ । आगामी दिनमा कूल १०२ बिघा चिया बगानमै अन्तरबालीका रूपमा सुपारीखेती विस्तार गर्ने कम्पनीको योजना छ ।

“हाम्रो बगानमा चिया पहिल्यै थियो”, मिश्रित खेतीको अनुभव सुनाउँदै अधिकारीले भन्नुभयो, “भारतको आसाम भ्रमणका क्रममा त्यहाँ चिया बगानभित्रै सुपारीका बोटहरू हुर्काएको देखेपछि मलाई पनि यो सोच आएको हो । हामीले आसामबाटै उन्नत जातको सुपारीको दाना ल्याएर आफ्नै नर्सरीमा बिरुवा तयार गर्यौँ । अहिले ती बोटहरू तीन वर्षका भइसके ।”

ऐतिहासिक रूपमा भारतबाटै नेपाल भित्रिएका यी दुवै बालीको मुख्य निर्यात बजार पनि भारत नै हो । हाल नेपालका ३१ जिल्लाको २१ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चियाखेती फैलिएको छ भने सुपारीखेती मुख्य गरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम गरी करिब चार हजार हेक्टरमा छ ।

मुलुकको कूल सुपारी उत्पादन र क्षेत्रफलको दुई तिहाइभन्दा बढी हिस्सा झापा जिल्लाले मात्र ओगटेकाले यसलाई ‘सुपारीको राजधानी’ समेत भनिन्छ । जिल्लाको करिब तीन हजार हेक्टरमा सुपारीखेती हुन्छ । झापाको मेचीनगर र अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका सुपारी उत्पादनका प्रमुख केन्द्र हुन्, जहाँ रैथाने किसानहरूले परम्परागत रूपमै यसको खेती गर्दै आएका छन् ।

पछिल्लो समय झापामा छहारी मन पराउने बालीहरू चिया, मरिच, अलैँची र केराको अन्तरबाली लगाएर एउटै जमिनबाट बहुआयामिक लाभ लिने उत्कृष्ट अभ्यास भइरहेको छ । मेचीनगर नगरपालिका–४ का अगुवा किसान रवि नेपालले यसअघि नै व्यक्तिगत रूपमा यस्तो मिश्रित खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।

व्यावसायिकस्तरमा ठूलो लगानी गरेर चिया र सुपारीको मिश्रित खेती गर्ने जोखिम हडिया रियल टी इस्टेटले पहिलोपटक उठाएको हो । बगानमा सुपारीका बोटहरू क्रमशः हुर्किंदै गएपछि छहारीका लागि पहिले लगाइएका सिरिसलगायतका रुखहरू हटाइएको छ । कम्पनीले सुपारीखेतीको छुट्टै हेरचाह, गोडमेल र मलजलका लागि विशेष प्राविधिक तथा श्रमिकसमेत परिचालन गरेको जनाएको छ ।

हडिया इस्टेटको यो मिश्रित खेती मोडेल सफल भएमा जिल्लाका अन्य ठूला चिया बगानहरूमा पनि सुपारी खेती विस्तारको नयाँ ढोका खुल्नेछ । यसैको सिको गर्दै मेचीनगर नगरपालिका–१५ स्थित ‘वंशल टी इस्टेट’ले पनि परीक्षणका रूपमा चिया बगानभित्र सुपारीका बिरुवा रोप्न सुरु गरिसकेको छ । रासस