७ आश्विन २०८१, सोमबार
,
Latest
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सयौ किसान मौरी जोनमा, कसरी पर्न सकिन्छ मौरी जोनमा ?



अ+ अ-

दाङ । दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् ।

“पहिलो चरणमा किसानको मागका आधारमा मौरी जोन क्षेत्रहरुमा ‘कस्टम हाइरिङ’ र ‘पोस्ट हाइरिङ’ सेन्टर स्थापना गर्ने कार्यक्रम छ”, उहाँले भन्नुभयो, “कृषिकहरुलाई तालीम, अवलोकन भ्रमण गराउने एवम् मह उत्पादन, प्रशोधन र बजारीकरण तालीम पनि सञ्चालन गरिने छ ।”जिल्ला मौरी जोन कार्यक्षेत्र सिफारिस कार्यदलको प्रतिवेदनअनुसार तुलसीपुर, घोराही, शान्तिनगर, दङ्गिशरण, बबई र बङ्गलाचुलीलगायत पालिकाहरुमा अहिले व्यावसायिक मौरीपालनको काम भइरहेको र त्यसमा पनि मेलिफेरा र सेरेना जातको मौरी बढी पालिएका छन् । अहिले जिल्लामा सेरेना जातको दुई हजार ५४० र मेलिफेरा जातको १७ हजार ८०२ गरी २० हजार ३४२ मौरीको घार रहेको र त्यसबाट १०७ मेट्रिकटन सेरेना जातको र ६७५ मेट्रिकटन मेलिफेरा जातको गरी ७९२ मेट्रिकटन मह उत्पादन भइरहेको बताइएको छ ।

मौरी जोन स्थापनाका लागि मौरीका बारेमा सम्भाव्यता अध्ययन टोलीले घोराही नगरपालिकाको विभिन्न स्थानमा अवलोकन गर्दा घोराहीमा १० देखि ३०० घारसम्म मौरी पालन गरिएको र अधिकांश वडामा मौरीपालनको काम भइरहेको पाइएको अध्ययन टोलीका संयोजक तिलक ओलीले जानकारी दिनुभयो । घोराहीमा मात्रै हालसम्म तीन वटा मह प्रशोधन केन्द्र सञ्चालनमा छन् । यस क्षेत्रमा प्रशस्त मौरी चरनको क्षेत्र भएको हुँदा करीब १५४ किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् ।तुलसीपुरमा पनि न्यूनतम पाँचदेखि ३०० सम्म मौरीको घार रहेको र त्यसमा ९५ किसानले व्यावसायिक रुपमा मौरीपालनको काम गरिरहेका छन् । बङ्गलाचुलीमा पनि करीब ७० किसानले व्यावसायिक रुपमा मौरी पाल्दै आएका छन् ।

पहिलो चरणमा दाङको घोराही, तुलसीपुर र बङ्गलाचुलीमा मौरी जोन क्षेत्र शुरु गरिएको हो । मौरीको चरनका लागि चिउरी, तोरी, रुदिलो, साज, सिसौ तथा खयरका बोटहरु पनि प्रशस्त पाइएको अध्ययन टोलीले बताएको छ । तीे महको मूल्य प्रतिकिलो रू ३०० देखि ४५० सम्म छ ।