पर्वत । यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ । अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ । रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन् ।
जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा र फलेवास नगरपालिका, जलजला गाउँपालिकालगायतका ठाउँमा कृषि मजदूर नपाउँदा किसान समस्यामा परेकाछन् ।
धान पाकेर भूँइमा झर्न थालिसकेपनि खेताला नपाएर धान काट्न नसकिएको कुश्मा नगरपालिका–११ पिपलटारीका रमेश पौडेलले बताउनुभयो । जनशक्तिको अभाव र भएको जनशतिm पनि धान काट्ने चटारोमै भएका कारण समस्या आएको उहाँको भनाइ थियो । उहाँ जस्तै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका माया सापकोटा धान काट्ने खेताला खोज्न गाउँभर तथा छिमेकी गाउँमा पुगेपनि नपाएको गुनासो गर्नुभयो । युवा सबै विदेशीएपछि गाउँघर सुनसान बन्न थालेको उहाको भनाइ थियो ।
“सबैलाई धान काट्ने चटारो छ, गाउँमा भएका युवायुवती सबै विदेश गए, गाउँमा खेतालाको अभावै भयो”, उहाँले भन्नुभयो । पहिले अर्मपर्म गरेर नै धान काट्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । उहाँ जस्तै कुनपा– १२ ठूलीपोखरीका अशोक केसीको पीडा पनि उस्तै छ । गाउँमा युवायुवती भन्दा बुढाबुढी धेरै हुँदा समस्या भएको हो । “धान उत्पादन पहिलेको तुलनामा घटेको पनि छ अर्मपर्म गरांै भने आफ्नैमा धान काट्ने चटारो छ”, केसीले भन्नुभयो, “खेताला अभावमा समस्या परेको छ ।”
अहिले गाउँमा एकजना खेतालाको पारिश्रमिक रु पाँच सयदेखि रु ६०० सम्म छ । पहिले छिमेकी गाविस तथा अर्मपर्म गरेर धान काट्दै आउने गरेता पनि अहिले युवायुवती विदेशीएसँंगै झनै समस्या भएको किसानको भनाइ थियो ।
बजारमा व्यापार, व्यवसाय गर्ने पनि खेतालाको अभावले पसलै बन्द गरेर धान काट्न जानु परेको बताउँछन् । सदरमुकाम कुश्मा बजारमा व्यवसाय गर्दै आएका शिव शर्मा भन्नुहुन्छ, “पसलमा बस्दा त कमाई त हुन्छ नि, तर के गर्नु धान काट्न भ्याइनभ्याइ छ ।” खेताला नपाएर व्यापारलार्ई त्यति समय दिन नपाएको उहाँको गुनासो छ । स्वदेशमा रहेका युवाजनशक्ति शहरमा जागिर खान्छन, जसका कारण खेतीपातीमा समय दिन पाउँदैनन् । घरमा रहेका बुढापाकाले ज्यानमा तागत नहुँदा खेतको काम गर्न नसक्ने उहाँको भनाइ छ ।
सरकारले देशमा स्वरोजगार कार्यक्रम ल्याए युवा विदेश जाने क्रम घट्ने र खेतालाको अभाव नहुने फलेवास नगरपालिकाका दिनेश लामिछानेले बताउनुभयो । किसानले आफूले उब्जनी गरेको बालीको मूल्य आफै निर्धारण गर्न नपाउँदा ठगिइरहेको अवस्थामा खेताला नपाउँदा झनै चिन्तित बनेको उहाँको भनाइ छ ।