११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहेको बताउनुभएको छ ।

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आज यहाँ आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो ।

“पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पङ्क्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरु जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरूलाई सँगै राखेर काम गर्न चाहन्छु”, सभापति थापाले भन्नुभयो ।

सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तय भएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको बताउनुभयो ।

अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरेको जानकारी दिँदै उहाँले त्यसमा पनि कतिपय सदस्य समेट्न सकिने बताउनुभयो। पार्टीभित्रका नेतालाई अवसर दिने विषयमा आफू प्रष्ट रहेको उल्लेख गर्दै सभापति थापाले भन्नुभयो, “को विशेष महाधिवेशनबाट आएको हो, को आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा हुँदैन ।”

देशभर रहेका क्रियाशील सदस्यलाई पार्टीको सदस्यता अद्यावधिक गर्नसमेत सभापति थापाले आग्रह गर्नुभयो । पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति पूर्णरूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो ।

ठूलो जनसमर्थनका साथ गठन भएको वर्तमान सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्नु चिन्ताजनक विषय भएको उहाँको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायलाई प्रधानमन्त्री केन्द्रित नबनाउन महामन्त्री पौडेलले सुझाव दिनुभयो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो । उहाँले आयोगले संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक पक्षलाई संयोजन गरेर सुझाव दिनुपर्ने उल्लेख गर्नुभयो ।

संविधानले कुनै पार्टीका इच्छा मात्र नेतृत्व गर्नु नहुने र राष्ट्रिय बहस आवश्यक रहेको नेता केसीको भनाइ थियो । “कुनै पूर्वप्रधानन्यायाधीशको अथवा राष्ट्रले चिनेको संविधानविद् र विज्ञको संयोजकत्वमा संविधान सुधार सुझाव आयोग गठन होस्, संविधानले कुनै पार्टीका इच्छा र अभिमतलाई मात्र नेतृत्व नगरी व्यवहारमा देखिएका त्रुटि कमजोरी समेतलाई केन्द्र विन्दुमा राखेर संविधानबारे राष्ट्रिय रूपमा बहस चलाउनुपर्छ”, नेता केसीले भन्नुभयो ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रजातन्त्रवादी कानुन व्यवसायी सङ्घका अध्यक्ष सीताराम केसी र शेरबहादुर केसी, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, वरिष्ठ पत्रकार गोकर्ण अर्याल, डा वासुदेव भण्डारीलगायतले मुलुकको समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । रासस