काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनताको वहुदलीय जनवादलाई ठिक ढंगले आत्मसात गर्न र सही ढंगले प्रयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको जनाउनु भएको छ ।
मदन–आश्रित स्मृती दिवस सन्र्दभमा आफनो दृष्टिकोण राख्दै उपाध्यक्ष पौडेलले सच्चायीलाई स्वीकार्न ढिलो भैसकेको जनाउनु भएको छ ।
उहाँले लेख्नुभएको छ-
आज जेठ ३ गते, मदन–आश्रित स्मृती दिवस । जनताको वहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी र कूशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली ।
नेकपा (माले)द्वारा आयोजित चौथो राष्ट्रिय महाधिवेशनले वहुदलीय प्रजातन्त्रिक शासन प्रणाली अवलम्बन गर्ने निर्णय गर्यो । नेकपा (एमाले)द्वारा आयोजित पाँचौ राष्ट्रिय महाधिवेशनले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि जनताको वहुदलीय जनवादको कार्यक्रम अघि सार्यो । छैटौं राष्ट्रिय महाधिवेशन यता हामीले जनताको वहुदलीय जनवादलाई लोकतान्त्रिक विधिबाट नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने सिद्धान्त, मार्गदर्शक सिद्धान्तका मान्दै आएका छौं ।
जनताको वहुदलीय जनवाद राज्यसत्ता संगठित र संचालन गर्ने लोकतान्त्रिक प्रणाली त हुँदै हो, यो लोकतान्त्रिक विधिकासाथ पार्टी निर्माण र सञ्चालनको सिद्धान्त पनि हो ।
२०४६ यता नेपाली कम्युनिष्ट आन्दोलनले प्राप्त गरेको सफलताको पृष्ठभूमीमा जनताको वहुदलीय जनवादको मार्गदर्शन र निर्णायक योगदान छ ।
तर यतिबेला नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा ज्यादा अप्ठ्यारो मोड र रक्षात्मक अवस्थामा आइपुगेको छ ।
हामीले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा जनताको वहुदलीय जनवादबाट ठिक ढंगले निर्देशित हुन सक्यौं वा सकेनौं भनेर वस्तुनिष्ट समीक्षा गर्न विलम्ब भैसकेको छ । जनताको वहुदलीय जनवादलाई ठिक ढंगले आत्मसात गर्न र सही ढंगले प्रयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको हो भन्ने सच्चायीलाई स्वीकार्नु ढिलो भैसकेको छ ।
तसर्थ, आफ्ना तर्फबाट भएका भूल–त्रुटी र गल्ति–कमाजोरीहरु स्वीकार गर्दै जनता समक्ष आत्मालोचक भएर प्रस्तुत हुन, जनताको वहुदलीय जनवादको मर्मलाई ठिक ढंगले आत्मसात गर्दै गुमेको जनताको विश्वास पुन: प्राप्त गर्न र नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुन:स्थापित गर्न दृढ संकल्प गरौं, यही नै मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।











