१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानमा आलुको बीउ वितरण



अ+ अ-

दमौली । जिल्लाको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरेको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई आलुको बीउ वितरण गरेको हो ।

नगरपालिकाका १४ वटै वडाका करीब ३०० कृषकलाई १६ हजार ५०० केजी आलुको बीउ वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख विश्वराज वाग्लेले जानकारी दिनुभयो । कृषि शाखाले जनकदेव र एमएस जातको आलुको बीउ वितरण गरेको छ । प्रतिकेजी रु ५८ पर्ने जनकदेव आलुलाई रु २९ मा र प्रतिकेजी ६० पर्ने एमएस आलुलाई रु ३० मा वितरण गरिएको वाग्लेले जानकारी दिनुभयो । “अनुदानमा आलुको बीउ वितरणका लागि सूचना निकालेका थियौँ”, वाग्लेले भन्नुभयो, “कृषकको मागबमोजिम अनुदानमा बीउ बाँडेका हौँ ।” नगरपालिकाले काभ्रेबाट आलुको बीउ खरीद गरी ल्याएको हो ।

नगरपालिकाले वितरण गरेको आलुको बीउ करीब १८३ रोपनी क्षेत्रफललाई पुग्छ । नगरपालिकाको करीब पाँच/छ सय रोपनी क्षेत्रफलमा आलुखेती हुने गरेको अनुमान छ । बीज भण्डारबाट पनि कृषकले आलुको बीउ खरीद गरेर लैजाने हुनाले कति क्षेत्रफलमा आलुखेती हुन्छ भन्ने आधिकारिक तथ्याङ्क भने नगरपालिकासँग नरहेको वाग्लेले बताउनुभयो । “आलुखेतीमा कृषकलाई आकर्षित गर्न र आलुमा आत्मनिर्भर बनाउन अनुदानमा आलुको बीउ वितरण गरिएको हो”, वाग्लेले भन्नुभयो ।

यसैगरी कृषि शाखाले च्याउ, हाते ट्र्याक्टर, साना सिँचाइ, मौरीगोला तथा घार, तरकारीखेतीका लागि प्लाष्टिक टनेललगायत पनि अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।

व्यास नगरपालिका–८ जलेश्वर टोल विकास संस्थाका अध्यक्ष धर्मराज मिश्रले ६०० केजी आलुको बीउ माग गरिएकामा ३०० केजी मात्रै पाएको बताउनुभयो । टोल विकास संस्थामार्फत ६० कृषकले आलुको बीउ खरीद गरेका छन् । समूहमार्फत आलुको बीउ खरीद गरे पनि यहाँका कृषकले भने छुट्टाछुट्टै रूपमा आलुखेती गर्दै आएको मिश्रले जानकारी दिनुभयो ।

व्यास नगरपालिका–१० खहरेस्थित मादीगङ्गा महिला बहुउद्देश्यीय सहकारीअन्तर्गत महिला समूहले ९०० केजी आलुको बीउ खरीद गरेको समूहका अध्यक्ष चिजा सापकोटाले जानकारी दिनुभयो । समूहले दुई वर्षदेखि १५ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गर्दै आएको छ । गत वर्ष छ बोरा बीउ लगाएकोमा २४ बोरा आलु उत्पादन भएको समूहका सदस्य सान्नानी बगालेले बताउनुभयो । गत वर्ष उत्पादित आलु समूहका ६० सदस्यलाई नै वितरण गरिएको थियो । “अब यो वर्षदेखि उत्पादित आलु बिक्री वितरण गर्ने सोच बनाएका छौँ”, बगालेले भन्नुभयो ।