५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादीरहित तरकारी उत्पादनमा किसान



अ+ अ-

काठमाडौं । किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका एक सय ४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।

विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसानहरू बताउँछन् । ती किसानले आठ वटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् ।

टीकापुर— १ को वनगाउँ र शङ्करपुर, वडा नं २ को राजीपुर र सीतापुर, वडा नं ३ को घीया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् ।

टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए ।

“माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ”, उनले भने, “हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।”

किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारीखेती गरिरहेका छन् ।

यतिबेला यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायतको तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् ।

बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए । टीकापुर नगरपालिकाले अर्गानिक तरकारीखेती गर्ने किसानको सहजताका लागि हाटबजारमा छुट्टै ‘स्टल’ को व्यवस्था गरिदिएको छ । यसरी अर्गानिक खेती गरे पनि बजार मूल्य अन्य तरकारी सरह हुँदा आफूहरू मर्कामा परेको किसानको गुनासो छ ।

किसान रुविना चौधरीले विषादीरहित र अर्गानिक तरकारीको मूल्य फरक हुनुपर्ने बताए  । “हामीले मानव स्वास्थ्य र वातावरण संरक्षणमा योगदान पुग्ने गरी उत्पादन गरिरहेका छौँ, तर बजार मूल्य भने अन्य तरकारीजस्तै छ”, उनी भन्छन्, “यसले हामी मारमा परिरहेका छौँ । अब सबैले हाम्रो मेहनत बुझ्नुपर्छ, विषादी नहालेको तरकारी उत्पादक किसानलाई प्रोत्साहन गर्न उपभोक्ता र सरकार पनि गम्भीर बन्नुपर्छ ।”

किसानको जीविकोपार्जनमा सुधार र उपभोक्ताका स्वास्थ्य लाभका लागि प्राकृतिक तरकारीखेतीमा लाग्न सेवक नेपाल नामक संस्थाले सहयोग गरिरहेको छ । यसमा टीकापुर नगरपालिकाको पनि सहकार्य छ ।

सेवक नेपालका परियोजना अधिकृत प्रेम चौधरीले संस्थाले समूहमा आबद्ध एक सय ४० जना किसानलाई प्राकृतिक खेतीका लागि बीउबिजन, प्रविधि र अन्य प्राविधिक सहयोग गरिरहेको बताए  ।

किसानलाई विषादी र रासायनिक मल प्रयोग गर्न नदिन सचेत गराउनुका साथै विकल्पका रूपमा स्थानीयस्तरमै पाइने सामग्री प्रयोग गरी झोल मल बनाउन सिकाइएको उहाँले जानकारी दिनुभयो ।