२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग



अ+ अ-

काठमाडौं। विश्व बजारमा कच्चा तेलको आपूर्ति असहज भएसँगै पेट्रोलियम पदार्थको मूल्यमा आएको अस्वाभाविक वृद्धिको प्रभाव नेपालमा पनि देखिन थालेको छ।

यही क्रममा नेपाल आयल निगमले २०८३ वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित बनेको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रेस विज्ञप्ति जारी गर्दै डिजेलको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दा त्यसको प्रत्यक्ष असर ढुवानी क्षेत्रमा परेको छ, जसका कारण भाडादर समायोजन अपरिहार्य बनेको हो।

महासंघले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडादर स्वतः समायोजन हुने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ।

विज्ञप्तिमा पछिल्ला दुई पटकको मूल्यवृद्धिबाट डिजेलमा कुल ५ रुपैयाँ ५१ पैसासम्म वृद्धि भएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै भाडादरमा सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ। महासंघले चैत २५ गते कायम गरिएको भाडादरलाई वैशाख २ गतेको मूल्यवृद्धिअनुसार पुनः समायोजन गर्न सरकारसँग आग्रह गरेको छ।

यता, डिजेल मूल्यवृद्धिको विरोधस्वरूप प्रमुख व्यापारिक नाका वीरगञ्जमा ट्रक व्यवसायीहरूले मालवस्तु लोड गर्नसमेत बन्द गरेका छन्। भाडादर समायोजन नभएसम्म लोडिङ नगर्ने अडान लिएपछि वीरगञ्ज नाकाबाट हुने ढुवानी सेवा प्रभावित बनेको छ। यसले आयात–निर्यात गतिविधिमा समेत असर पर्ने देखिएको छ।

महासंघले पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाई मूल्य घटाउन तथा खपत नियन्त्रण गर्न सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारसँग अनुरोध गरेको छ। रातारात इन्धनको मूल्य बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले व्यवसायी मारमा परेको भन्दै तत्काल समाधान खोज्न दबाब दिएको छ।