मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।
करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिक टन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । तर करिब २ हप्ता भित्र कोइला आइपुग्ने हेटौँडा सिमेण्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले जानकारी दिए ।
विभिन्न कारणबाट हेटौंडा सिमेन्ट उद्योग लामो समयसम्म बन्द हुने र उत्पादन ठप्प हुने तथा उत्पादित सिमेन्टको बजारीकरण हुने जस्ता समस्या भोग्दै आएको छ । नीतिगत समस्या सहित दैनिक व्यवस्थापकीय समस्याहरु भोग्न उद्योग बाध्य छ ।
उद्योगले आवश्यक कच्चा पदार्थ, प्रविधि, जनशक्ति अभाव जस्ता समस्या दैनिक रुपमा भोग्दै आएको छ भने उद्योगसँग सञ्चालनको दीर्घकालीन रणनीति नै छैन । त्यस्तै उद्योगले आफ्नो व्यापार नीति पनि बनाउन नसकेको अवस्था रहेको छ । जसका कारण उद्योगले थप समस्याहरु भोग्दै आएको छ ।
उद्योगले उत्पादन र बजार प्रवर्द्धन नीतिको अभावका कारण बर्सेनि घाटा व्यहोर्दै आएको छ । बजार प्रवर्द्धन नीति नहुँदा निजी उद्योगका उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न हेटौंडा सिमेन्ट उद्योगले सकिरहेको छैन ।
उद्योगले बैंक ग्यारेन्टीका आधारमा सिमेन्ट बिक्री गर्ने नीति बनाए पनि मूल्य महँगो हुँदा कतिपय खरिदकर्ताले सिमेन्ट खरिद नगर्ने गरेको र उत्पादित सिमेन्ट बिक्री हुन सकेको छैन ।
उद्योगका प्रवक्ता गौतमका अनुसार उद्योगमा सिमेन्ट खरिदका लागि २६ वटा फर्मले बैंक ग्यारेन्टी गराएका छन् । त्यसमध्ये १६ फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट खरिद गरी उद्योगबाट उठाउने गरेका छन् भने १० वटा फर्मले प्रतिवद्धता अनुसार सिमेन्ट उठाउन छोडेका छन् ।











