काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित बन्न आब्हान गर्नुभएको छ ।
नव वर्ष २०८३ को अवसरमा दिनुभएको शुभकामना सन्देश पूर्वराजा शाहले यस्तो आव्हान गर्नुभएको हो ।
उहाँले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन नहुने उल्लेख गर्दे जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगर्न अनुरोध गर्नुभएको छ ।
सन्देशको पूर्णपाठ
हामी नयाँ वर्ष दुई हजार त्रियासीमा आइपुगेका छौं । नव वर्षारम्भको यो परिवर्तनको पुनित अवसरमा देश भित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरुलाई सुख र शान्तिको मंगलमय शुभकामना । समयको प्रवाहसँगै हामीले हाम्रो देश र हाम्रो समाजलाई प्रगति पथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटीलाई सच्याउँदै र बाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्य तर्फ लम्कनु
पर्दछ ।
तब नै नयाँ वर्षको नवागत समयको अर्थ रहन्छ । वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरुको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा त हामीले निकै हेरफेर हेर्यौं तर त्यो कोरा परिवर्तन मात्र भयो । दल दलको खल्बलमा त हामी धेरै दगुर्यौं तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछाडी पर्यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्र हामी लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्र रह्यो । स्थिरता, निरन्तरता र दृढता कता कता हराएर गयो । विधी, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।
राजनीति र राज्य संचालनको गतिविधीमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनमा मद्दत पुग्छ भन्ने हामीलाई लाग्दछ । आज हाम्रो देश चौतर्फी समस्याको चांगमा छ । यो बेला नेपाली जनताका आशा अभिलाषा पनि उत्तिकै छन् । यो स्थितिमा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा परेको छ ।
नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति दिन सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने पीडा प्रकोप विषयमा हाम्रो आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिने तर्फ राज्यको गहिरो ध्यान पुग्नु पर्ने देखिन्छ ।
आम नागरिकले कुनै प्रकारको शारिरीक, मानसिक, भौतिक तथा जीवन यापनको मामिलामा त्रास, पीडा, अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भताबाट र स्वाधिन भएर पराधीनताबाट देशलाई जोगाउनु छ । देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्य तर्फअब हाम्रो पाइला अघि बढ्नु पर्छ । निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौं ।
परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनु हुँदैन । जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबैपक्षको मागलाई सम्बोधन हुने गरि सम्बैधानिक समाधान खोज्न दृढ संकल्पित
बनौं ।
नेपाल शान्तिको भूमी बनोस्, उन्नतिको मुलुक बनोस् अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचित एवं प्रतिष्ठित बनोस् । सबै सबै नेपालीले न्याय, शान्ति र सुख पाउन् । यही हाम्रो सदिच्छा हो । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल










