३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन सट्टेबाजीविरुद्ध कडा कदम : ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द



अ+ अ-

काठमाडौँ । अनलाइन सट्टेबाजी नियन्त्रण गर्न सरकारले कडा कदम चालेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले देशभर सञ्चालनमा रहेका ७ हजारभन्दा बढी सट्टेबाजीसँग सम्बन्धित एप तथा वेबसाइट बन्द गराएको जनाएको छ।

प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यस्ता एप र यूआरएल तुरुन्तै बन्द गर्न निर्देशन दिइएको थियो। सोहीअनुसार २४ घण्टाभित्रै कार्यान्वयन गर्ने नीति अपनाउँदै व्यापक रूपमा कारबाही अघि बढाइएको हो।

पछिल्लो एक साताको अवधिमा मात्रै अनलाइन सट्टेबाजीसम्बन्धी ५० भन्दा बढी गुनासो प्राप्त भएको र ती सबैलाई सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ।

मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय (बुँदा नं. ४२) तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको चैत १५ गतेको निर्देशनपछि यस्तो कारबाहीलाई तीव्रता दिइएको हो।

कानुनी रूपमा हेर्दा, मुलुकी अपराध संहिता, २०७४ ले सट्टेबाजीलाई अवैध मानेको छ। उक्त कसूरमा संलग्न पाइएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको छ।

साथै, विज्ञापन ऐन, २०६६ ले पनि सट्टेबाजीसम्बन्धी प्रचारप्रसारमा स्पष्ट प्रतिबन्ध लगाएको छ।

प्राधिकरणले सर्वसाधारणलाई यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन आग्रह गर्दै सूचना प्रविधिको दुरुपयोग नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको जनाएको छ।रासस