८ आश्विन २०८१, मंगलवार
,
Latest
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता दुर्गा प्रसाईंको रिटमा कारण देखाउ आदेश जारी झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत: आईएमएफ चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ तल अधिकार नदिने हो भने संघीयता हटाइदिए हुन्छ: डा. शेखर कोईराला कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्घटना रोक्न नयाँ योजना, सार्वजनिक सवारी र चालक निगरानीमा



अ+ अ-

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनका चालकको लाइसेन्स पुनः परीक्षण गर्ने भएको छ । अत्यधिकमात्रामा सवारी दुर्घटना हुन थालेपछि त्यसको न्युनीकरणका लागि विभिन्न योजना ल्याउने भएकोे हो । नेपालको सडकलाई दुर्घटनाको प्रमुख कारण मानिए पनि चालकको लापरवाही नै पछिल्लो समय दुर्घटनाको कारक देखिन थालेको छ । पछिल्लो पटक सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं न्युनीकरणको उपाय लागु गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका चालकलाई तालिम, लाइसेन्सको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिलाई परीक्षण गर्ने तयारीमा जुटेको हो । विभागले यस विषयमा कार्ययोजना बनाउने तयारी सुरु गरेको छ । नेपालमा बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउने गरे पनि यसलाई न्युनीकरणका लागि खासै योजना बनेका छैनन् । दुर्घटनापछि सडक, चालक र सवारीलाई दोष थुपारेर घटना थामथुम पारिन्छ । सडक दुर्घटनामा धेरैले ज्यान गुमाउने देशहरूमध्ये नेपाल पनि पर्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकले नेपालमा करिब साढे चार हजार जनाले बर्सेनि ज्यान गुमाइरहेको देखाउँछ । सरकारी तथ्यांकले भने करिब साढे दुई हजार जनाले ज्यान गुमाइरहेको बताउने गरेको छ । तर, अब कार्ययोजना बनाउने तयारी सुरु भएको छ । विभिन्न निकायलाई जिम्मेवारी दिएर त्यसै अनुरुप कार्यायोजना बनाइने विभागले जानकारी दिएको छ । दुर्घटना बढ्न थालेपछि प्रधानमन्त्री ओलीले सोमबार गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागु गर्न निर्देशन दिए ।

गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ तथा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलगायतलाई प्रधानमन्त्रीले संयुक्तरूपमा निर्देशन दिँदै कार्ययोजना बनाउन भनेका छन् । भावुकरूपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक सडक दुर्घटनामा भएका मानवीय क्षतिले आफूलाई निद्रा नपरेको भन्दै यसलाई तत्काल घटाउने गरी सडक नियम पालना गराउन भनेका छन् ।

‘सिन्धुपाल्चोकको सडक दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिसे भएको खबर पढेँ, बिरामी अवस्थामा रहेर हो कि, म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । त्यसले कति वृद्धवृद्धा र बालबालिकालाई बेसहारा बनाएको छ । यसलाई तत्काल रोक्ने कार्ययोजना बनाउनु पर्यो ।’ प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने भएकाले यसलाई विशेष योजना नै ल्याउन भनेका छन् ।

‘सिटभन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नुस्, तीव्र गतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।’

हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ ।

छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, त्यसलाई कम गर्ने उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी गराएका थिए । सौर्य दैनिकबाट