२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति



Rescuers try to douse a major fire that engulfed Korail Slum in Dhaka, Bangladesh, Tuesday, Nov. 25, 2025. (AP Photo/Rajib Dhar)
अ+ अ-

काठमाडौं ।जुम्लामा गत आर्थिक वर्षभरि डढेलोका कारण ३३०.२८ हेक्टर वन क्षेत्र क्षति भएको छ। डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार सो वर्ष २९ स्थानमा वन डढेलो लागेको थियो र करिब ३३०.२८ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो।

चालु आर्थिक वर्षको पहिलो आठ महिनासम्म जिल्लाका आठवटै स्थानीय तहअन्तर्गत विभिन्न ६ स्थानमा डढेलो लागेको छ। यस अवधिमा करिब १०० हेक्टर वन क्षेत्र डढेलोबाट क्षति भएको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाले जानकारी दिए।

वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यालय प्रमुख बुढ्थापाले “वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नारासहित जुम्लामा वन डढेलो नियन्त्रणसम्बन्धी साप्ताहिक कार्यक्रम चैत १ देखि ७ गतेसम्म विभिन्न गतिविधिसहित सञ्चालन गरिने जानकारी दिए।

बर्सेनि गर्मीयाममा हुने डढेलोले वन क्षेत्रमा क्षति पुर्‍याउँदै आएको छ। विशेषगरी दमकल पुग्न नसक्ने विकट क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न कठिनाइ हुने गरेको बताइएको छ। वन संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले बताए ।