२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी बन्गाड कुपिण्डे नगर समितिको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलिएको मदिरा–चामल वितरणसम्बन्धी समाचार भ्रामक



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बन्गाड कुपिण्डे नगर समितिले सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रमपूर्ण सूचनाप्रति गम्भीर आपत्ति जनाएको छ।

आज बिहान सल्ली बजार क्षेत्रमा रक्सीका गत्ता र चामलका बोरा बोकेको गाडी पार्टीको प्रचार–प्रसारमा प्रयोग भएको र उक्त गाडी प्रहरी नियन्त्रणमा परेको भन्ने समाचार सामाजिक सञ्जालमा प्रसारित भएपछि समितिले औपचारिक विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो।

नगर समितिका अनुसार सामाजिक सञ्जालमा फैलाइएको सूचना आधारहीन, मनगढन्ते तथा भ्रामक रहेको छ। समितिले यस्तो प्रचारले सल्यानवासी तथा आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको उल्लेख गरेको छ।

विज्ञप्तिमा अनुसार सम्बन्धित गाडी चुनावी अभियानका क्रममा पार्टीले प्रयोग गरेको भए पनि उक्त गाडीमा ढुवानी गरिएका मदिरा तथा चामलजन्य सामग्री पार्टीले वितरण गरेको भन्ने दाबी असत्य रहेको स्पष्ट पारिएको छ।

गाडीधनीले ढुवानी खर्च प्राप्त गरी व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ सामान ढुवानी गरेको र यस कार्यमा पार्टीको कुनै संलग्नता नरहेको समितिको भनाइ छ।

नगर समितिले घटनाको वास्तविकता छानबिन गर्न प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नगर समितिका सभापति लोकेन्द्र वलीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भ्रामक समाचारप्रति आपत्ति जनाउँदै यस्ता आधारहीन प्रचारप्रसार नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।