काठमाडौंः नेपाल वायुसेवा निगमको संचालक समितिको बैठकमा तीन सदस्यले कार्यकारी अध्यक्ष मदन खरेललाई पाँचबुँदे स्पष्टीकरण मागेका छन् । गत साता प्रधानमन्त्री केपी शर्मा ओली समक्ष संस्कृति, पर्यटन मन्त्री योगेश भट्टराई, कार्यकारी अध्यक्ष खरेल र पर्यटन सहसचिव एवं निगम संचालक समितिका सदस्य बुद्धिसागर लामिछानेले निगम बारे छलफल गरेका थिए ।
त्यसक्रममा खरेलले आफूले गरेको काम बताउँदै सबै पक्षबाट सहयोग नभएको, संचालक समिति अपुरो रहेको तथा सदस्यबाटै असहयोग गरेको कुरा व्यक्त गरेका थिए भनी सूत्रले दाबी गरेको छ । सरकारी स्वामित्वको निगमलाई सहज रुपमा सुधार गर्नुपर्नेमा आफू लागेको बताएका थिए । त्यही विषय अहिले स्पष्टीकरणमा विषय बनेको छ । संचालक समितिमा खरेल र लामिछाने बाहेक अच्यूत पहाडी विज्ञ र अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल छन् । अन्य दुई सदस्य खाली छ । पर्यटन मन्त्री स्वयं उक्त छलफलमा सहभागी भएका थिए । यही विषयलाई अगाडि सारेर मागपत्र जारी भयो । यो अवस्थाले निगममा थप कामहरुमा पूर्ण रुपले अवरोध खडा हुँदै जाने निश्चित छ ।
स्पष्टीकरण मागपत्रको पहिलो मुद्दा नै कुन कुन बैठकमा को को सदस्यले असहयोग गरेको भनी उल्लेख गरिएको छ । दोस्रोमा वाइडबडी ३३०–६०० जापानको नारिता नउडाई ओशाका उडाएको भनिएको छ जुन कुरा उडान शुरु भएको महिनौं भैसक्यो र नारिताको प्रयास भइरहेको कुरा यसअघिको बैठकले जानकारी गराइसकेको छ । तेस्रोमा चिनियाँ जहाजको कुरा छ । निगमसँग थुप्रै चिनियाँ जहाज छन् जो अनेकन कारणले समस्याग्रस्त छन् । चौथोमा एयरबस ३२० र ३३० इन्जिन मर्मतको कुरा छ । यसमा करिब १० महिना संसदको सार्वजनिक लेखा समिति हुँदै सर्वोच्च अदालत पुगेको छ । त्यसबेला संचालक मध्येबाटै प्राविधिक रुपमा असफल भएको कम्पनीलाई तोकेर हिँडेको समाचार बाहिर आएको छ । अर्को इन्जिन मर्मत नगरी भाडामा चलाएर नोक्सान गरेको माग छ ।
यी पछिल्ला चार विषय विगत एक वर्षदेखि चर्चामा आएकै हुन् । जब अध्यक्षले संचालक समितिका सदस्यबाट असहयोग भयो भनेपछि यी कुरा बाहिर आएका हुन् । यसमा प्रष्ट के देखिएको छ भने यी चार बुँदा समस्या हुन् र यो तथ्य हो तर एक वर्षसम्म उनीहरुले यी विषयमा किन कुरा उठाएनन् भनी निगमका कर्मचारीले असन्तुष्टी व्यक्त गरेका छन् । निगमका अध्यक्ष असक्षम हो भने मन्त्रीले किन राखिरहेका छन् ? असक्षम सावित गर्न खोज्ने सदस्यहरु सो समितिमा किन बसिरहेका छन् ? सरकारले संचालक समितिलाई किन अपूर्ण राखेको छ ? आदि प्रश्नहरु उठ्नु स्वाभाविक हो ।
पर्यटन मन्त्री, निगम अध्यक्ष र संचालक समितिका सदस्य उसैको कसैसँग मतैक्यता हुँदैन भने निगमलाई सुधार गर्ने सरकारको, निगमको लक्ष्य हासिल कसरी होला ? मन्त्री, अध्यक्ष, सदस्य सबै फेरिइरहने पद हुन्, यसमा शंका छैन, तर जति बसिन्छ राम्रो गर्नु पर्दछ भन्ने भावना देखिन्न । कुरा स्पष्ट के छ भने हिजो को थियो, आज यो छ तर आजै म भएँ गर्थें भन्ने निहित स्वार्थले काम गरिरहेछ । साँच्चै गर्ने भनेको त नेपाल सरकारको नीति नियम र निगमको नीति नियम र नियमावलीले हो भन्ने कुरा सबैले हेक्का राखे हुन्छ भनी निगमका सेवानिवृत्त जानकारहरुको भनाई छ ।