काठमाडौं । आन्दोलनरत उखु किसान र सरकारबीचको वार्ता सुरु भएको छ । शुक्रबार अपरान्ह उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोलीबीच वार्ता सुरु भएको हो ।
उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो ।
सरकारका तर्फबाट वार्तामा उद्योग सचिव यामकुमारी खतिवडा, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई सहभागी छन् । उखु किसानका तर्फबाट किसान राजेश यादवसहित १५ भन्दा बढी किसान र केही कानून व्यवसायी सहभागी भएका छन् ।
उखु किसानले उखुको मूल्य भुक्तानी नपाएसम्म घर नफर्कने अडान लिएका किसानहरुले माइतीघर मण्डलामा निरन्तर धर्ना दिइरहेका छन् । यस वर्षको उखु बेच्ने बेलासम्म अघिल्लो वर्षको भुक्तानी नपाएपछि किसानहरु काठमाडौंमै आन्दोलन गर्न आएका हुन् ।