२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका विभिन्न विपद्का घटनामा एकको मृत्यु, १२ जना घाइते, १८ लाखभन्दा बढीको आर्थिक क्षति



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा कुल २८ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । ती घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मा सत्य नारायणको पूजा भइरहेकै बेला चट्याङ पर्दा १४ वर्षीया एक बालिकाको मृत्यु भएको हो । सोही घटनामा अन्य दुई जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्का घटनाबाट करिब १८ लाख ३३ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ भने २५ वटा चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ ।

यस अवधिमा आगलागीका घटनाबाट पनि उल्लेख्य क्षति पुगेको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा विद्युत् सर्ट भई आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । कपिलवस्तुको चोरेखोलामा ग्यास लिक भएर आगलागी हुँदा २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ भने दाङको तुलसीपुरमा आगलागीबाट १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै मोरङ, सप्तरी, सिरहा, रौतहट र लमजुङलगायतका जिल्लामा पनि आगलागीका घटनाहरू भएका छन् । सिरहा र सर्लाहीमा भएका आगलागीका घटनामा दुई जना घाइते भएका छन् ।

चट्याङ र अन्य प्राकृतिक प्रकोपका कारण इलाम, संखुवासभा, खोटाङ र बागलुङमा मानवीय तथा पशुधनको क्षति भएको छ । इलाममा चट्याङ लागेर चार जना घाइते भएका छन् भने बागलुङमा १२ वर्षीय एक बालक बेहोस भएका छन् । संखुवासभा र खोटाङमा चट्याङका कारण चौपायाको मृत्यु हुनुका साथै केही भौतिक संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

जंगली जनावरको आक्रमणका घटनामा पनि क्षति भएको छ । मुस्ताङको लोमान्थाङमा हिउँचितुवाको आक्रमणबाट नौ वटा च्याङ्ग्रा मरेका छन् भने १० वटा घाइते भएका छन् । कैलालीमा बाघको आक्रमणबाट १० वटा बाख्राको क्षति भएको छ । यस्तै बारामा जंगली हात्तीले घरभित्रको अन्नपात नष्ट गर्दा करिब ७७ हजार रुपैयाँ बराबरको क्षति भएको छ । सिन्धुपाल्चोकमा भने कुकुरको टोकाइबाट एक प्रहरी जवान घाइते भएका छन् ।

मौसमको अवस्थाबारे प्राधिकरणले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा संखुवासभाको नुम केन्द्रमा सबैभन्दा बढी ३७ दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ । तापक्रमतर्फ झापाको दमकमा सबैभन्दा बढी ३२ दशमलव ५ डिग्री सेल्सियस र सोलुखुम्बुको लुक्लामा सबैभन्दा कम माइनस ० दशमलव ५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले विपद्का घटनाबाट थप क्षति हुन नदिन स्थानीय प्रशासनसँगको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना लाई सक्रिय रूपमा परिचालन गरिएको जनाएको छ । साथै ग्यास सिलिण्डर प्रयोगमा सावधानी अपनाउन, विद्युतीय तारको नियमित मर्मत गर्न र चट्याङको समयमा सुरक्षित स्थानमा रहन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्सम्बन्धी थप जानकारीका लागि प्राधिकरणको आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।