१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

महिला साक्षरता कम भएका स्थानमा मतदाता शिक्षामा जोड दिइँदै

महिला साक्षरता कम भएका स्थानमा मतदाता शिक्षामा जोड दिइँदै
अ अ+ अ-

काठमाडौँ। सप्तरीको सप्तकोशी नगरपालिका–२ की मतदाता शिक्षा स्वयंसेविका रुपा देवकोटा गत शुक्रबार बिहानै मतदाता शिक्षा सिकाउने उद्देश्यले मुसहर बस्ती पुग्नुभयो । एकाबिहानै बस्तीमा पुग्दा पनि बस्तीका प्राय झुपडीमा ताल्चा लागेको थियो ।

त्यसपछि उहाँ त्यतैबाट अर्को बस्तीतर्फ मोडिनु भयो । तर फेरि उक्त बस्तीमा एकपटक भए पनि पुग्ने योजनामा उहाँ हुनुहुन्छ । अरु समुदायमा महिला मतदातालाई मतदाता शिक्षा दिन सजिलो छ, मुसहर बस्तीमा त्यति सजिलो नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दिउँसो मान्छे नभेटिएलान भनेर बिहानै गएको थिएँ, बिहान झन् सबै जना मजदुरी गर्न निस्किने रहेछन् ।”

शिक्षिकासमेत रहनुभएकी उहाँले बाटोमै भेटिएका मुसहर समुदायका महिलालाई मतदाता शिक्षा दिने गरेको बताउनुभयो । तर, कामको चपेटाले गर्दा उनीहरुले ध्यान नदिने र मतदाता शिक्षाबारे सुन्न, सिक्न नचाहने गरेको उहाँको भनाइ छ । “एक, दुई जना महिलालाई बोटोमै भेटेर मतदाता शिक्षाको नमुना सिकाउने प्रयास गरेँ, तर बस्तीमा फेरि नगई हुँदैन भन्ने लागेको छ । बस्तीमा जाँदा मान्छे नभेटिने समस्या छ”, उहाँले भन्नुभयो ।

विगतका प्रतिनिधिसभा निर्वाचनमा पनि मतदाता शिक्षा स्वंसेविकाको अनुभव बटुल्नुभएकी देवकोटाले नमुना मतपत्रमा छाप लगाउन जानेकाले पनि कतिपयले मतपत्र पट्याउने तरिका नजान्दा मत बदर हुने गरेको बताउनुभयो । त्यसैले पट्याउने तरिका सिकाउनमा आफूले जोड दिएको उहाँको भनाइ छ ।

डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–३ का मतदाता शिक्षा स्वंयसेविका पार्वती पनेरु पनि हिजोआज मतपत्र बोकेर कहिले खेतमा त कहिले मेलापातमै पुगिरहनुभएको छ । महिला मतदातालाई एकै ठाउँमा भेला पार्न समूहमा मतदाता शिक्षाबारे सिकाउने उहाँको चाहना भए पनि त्यो सम्भव नभएको उहाँको अनुभव छ । “घाँसदाउरा र खेतीपातीमै व्यस्त हुने भएकाले उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँ पुगेर मतदाता शिक्षा दिने प्रयास गरिरहेकी छु”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बाटो छेकेरै भए पनि मतदाता शिक्षाबारे सिकाउनुपर्छ ।”

उहाँका अनुसार गाउँमा धेरैमा १० जनासम्म भेला पार्न सकिने र कतिपय अवस्थामा त एक दुई जना भेट्नसमेत गाह्रो हुने गर्छ । यद्यपि मतदाता शिक्षा दिन घरदैलो गर्दै आएको उहाँले बताउनुभयो । सुरुमा मतदानबारे सबै प्रक्रिया आउँछ भन्ने जवाफ पाए पनि नमुना मतपत्र पट्याउन दिँदा गल्ती गर्ने गरेको उहाँको भनाइ छ । त्यसपछि अधिकांशलाई मतपत्र पट्याउन सिकाउने गरेको पनेरुले बताउनुभयो ।

डडेलधुरा जिल्ला निर्वाचन कार्यालयका मतदाता शिक्षा स्वयंसेवक संयोजक भवानी दत्त भट्टका अनुसार जिल्लाका ५२ वडामा स्वयंसेवक परिचालन गरिएको छ । जसमा एक जना पुरुषबाहेक सबै महिला छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा मत बदर हुने दर घटाउन मतदाता शिक्षामा जोड दिएको छ । विगतका निर्वाचनको बदर मतको तथ्याङ्क विश्लेषण गर्दा महिला साक्षरता कम भएको ठाउँमा बदर मत बढी हुने गरेकाले महिला मतादातामा मतदाता शिक्षामा विशेष ध्यान दिनुपरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

आयोगका सहसचिव राजेन्द्र केसीले महिला साक्षरता कम भएकै स्थानमा महिला मतदाताबाट बढी मत बदर हुने गरेको अनुमान गरिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७८ को जनगणनाको तथ्याङ्कमा मधेश प्रदेशमा महिला साक्षरता सबैभन्दा कम ५४ दशमलव ७० प्रतिशत छ । सोही तथ्याङ्कलाई आधार मानेर तुलना गर्दा विसं २०७४ र त्यसअघिका निर्वाचनमा बदर मतको प्रतिशत अन्य प्रदेशको तुलनामा ५ दशमलव ४६ प्रतिशतले उच्च रहेको थियो ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा महिला साक्षरता ६५ दशमलव ५० प्रतिशत छ । राष्ट्रिय रुपमा औसत मत बदरको अनुपातमा सुदूरपश्चिममा बदर मतको दर ५ दशमलव ७० प्रतिशत रहेको थियो । बागमती प्रदेशमा भने महिला साक्षरता सबैभन्दा बढी अर्थात ७५ दशमलव २० प्रतिशत छ । त्यसैअनुसार बदर मत दर पनि सबैभन्दा न्यून ४ दशमलव १६ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशमा पनि महिला साक्षरता ७३ दशमलव ८० प्रतिशत रहेकामा बदर मत प्रतिशत तुलनात्मक रुपमा कम अर्थात ४ दशमलव ६३ प्रतिशत रहेको सहसचिव केसीले बताउनुभयो ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । जसमध्ये ९२ लाख ४० हजार १३१ महिला छन् भने ९६ लाख ६३ हजार ३५८ पुरुष छन् । अन्यमा दुई सय मतदाता छन् । विसं २०७९ को निर्वाचनको मतदाताको तुलनामा यस वर्ष नौ लाख १४ हजार १२१ मतदाता थपिएका छन् ।  रासस