११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि

राजनीतिसँगै व्यावसायिक उखुखेतीमा जमेका जनप्रतिनिधि
अ अ+ अ-

कैलाली। टीकापुर नगरपालिका–८ का धनसिंह साउद कृषि क्षेत्रमा सम्भावना देखेका किसान हुनुहुन्छ । राजनीतिसँगै कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बन्नुभएका उहाँ बर्सेनि ६५ बिघाभन्दा बढी क्षेत्रफलमा खेती गर्नुहुन्छ ।

साउदले धानखेतीमात्र ३० देखि ३५ बिघामा गर्दै आउनुभएको छ । याम अनुसारको उत्पादनका साथै उन्नत बीउ उत्पादनलाई जोड दिँदै आउनुभएका उहाँले पछिल्लो समयमा उखुखेतीलाई प्राथमिकता दिन थाल्नुभएको छ ।

गत वर्ष उहाँले झन्डै ४५ बिघा उखुखेती गरेको जानकारी दिनुभयो । यस वर्ष थप आठ बिघा उखुखेती विस्तार गर्ने तयारी उहाँले गर्नुभएको छ । बर्दियाको राजापुर नगरपालिकामा स्थापना भएको राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले किसानले उत्पादन गरेको उखु सहजै खरिद गर्न थालेपछि अन्य खेतीभन्दा उखुलाई प्राथमिकता दिएको साउद बताउनुहुन्छ ।

“एकपटकको लागानीले पछिसम्म फाइदा लिन सकिन्छ भने बजार खोज्नुपर्ने स्थिति छैन”, उहाँले भन्नुभयो, “मूल्य पनि राम्रो पाइने भएपछि अन्य बालीभन्दा उखुलाई बढी प्राथमिकता दिइएको छ ।” चिनी उद्योगले किसानको उखु प्रतिक्विन्टल रु ६९० मा खरिद गर्दै आएको छ । रु ६२० किसानले उद्योगबाट पाउँछन् भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले उखु किसानलाई अनुदान दिँदै आएको छ । उसो त साउदले यस वर्ष सात बिघा आलुखेती पनि गर्नुभएको छ ।

वडा नं ८ कै वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला उखुखेतीमा लामो समयदेखि लाग्नुभएको छ । दुई कार्यकाल वडाध्यक्षको जिम्मेवारीमा रहनुभएका उहाँ निर्वाचित पूर्व कृषि क्षेत्रमै आबद्ध हुनुहुन्थ्यो । कृषिसँगै राजनीति गर्दै आउनुभएका वडाध्यक्ष ठकुल्ला केही वर्ष पहिले गाउँमा गुदमिल सञ्चालन गर्दै आउनुभएको थियो । अहिले गुदमिल भने छैन । गत वर्षबाट उहाँले पनि पुनः उखुखेती विस्तार गर्नुभएको छ । सात बिघामा विस्तार गरिएको उखुखेती यस वर्ष थप विस्तार गर्ने योजनामा वडाध्यक्ष ठकुल्ला हुनुहुन्छ ।

“आम्दानी राम्रो भएपछि ममात्र नभई किसान उखुखेतीमा लाग्न थालेका छन् । मैले पनि विस्तार गर्दै लगेको छु”, उहाँ भन्नुहुन्छ, “बजारको सहजता र थोरै लगानीबाट राम्रो आम्दानी उखुखेतीले दिन थालेको छ ।”

राजनीति गरेर समाजसेवा भनेर मात्रै आर्थिक समृद्धि हासिल गर्न नसकिने भन्दै वडाध्यक्ष ठकुल्लाले उत्पादनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । “मैले समयको व्यवस्थापन गर्दै कृषिलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको छु । सिजनमा राम्रो आलु उत्पादन हुन्छ । मकै, धान, गहुँलगायतका बाली पनि लगाउँदै आएका छौँ । तर, पछिल्लो समय यस क्षेत्रमा उखुखेती लोकप्रिय बन्दै गएको छ ।” किसानले एक बिघामा ६०० क्विन्टलभन्दा बढी उखु उत्पादन गर्दै आएका छन् ।

टीकापुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपाने पनि लामो समयदेखि कृषि र व्यापारमा आबद्ध हुनुहुन्छ । उहाँ बर्सेनि ९–१० बिघा खेती लगाउनुहुन्छ भने २०५३ सालदेखि व्यापार गर्दै आउनुभएको छ । कृषि, व्यापारसहित राजनीतिमा आबद्ध न्यौपाने पनि राजनीतिले सन्तुष्टिमात्र मिल्ने बताउनुहुन्छ । “पैसा कमाउनका लागि व्यवसाय गर्नैपर्छ । व्यवसाय र राजनीतिलाई सँगसँगै लैजाँदा कुनै कुराको लोभ हुँदैन”, उहाँ भन्नुहुन्छ, “आज राजनीतिमा भन्दा खेतमा काम गर्दा सन्तुष्टि मिल्छ । हामीले काम गरेको देखेर गाउँका युवाहरूमा काम गर्नुपर्छ भन्ने मानसिकता बढेको छ ।”

न्यौपानेले अन्य खेतीसँगै उखुखेतीलाई विस्तार गर्दै लग्नुभएको छ । दुई बिघाबाट उखुखेती सुरु गर्दै आउनुभएका वडाध्यक्ष न्यौपाने यस वर्ष पुनः एक बिघा विस्तार गर्ने योजनामा हुनुहुन्छ । केही समय केराखेतीमा आकर्षित किसान पछिल्लो समय उखुखेतीमा आकर्षित हुँदै गएका छन् । लगानी सुरक्षित भएपछि किसानले उखुखेतीलाई प्राथमिकता दिन थालेको स्थानीय कृषक सुन्दर चौधरी बताउनुहुन्छ ।

राजापुर सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजले उद्योगको क्षमताअनुसार वार्षिक ३० देखि ३५ लाख क्विन्टल उखु आवश्यक पर्ने उद्योगका प्रशासनशाखाका प्रमुख इन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगको पहुँचमा अहिलेसम्म छ–सात सय क्विन्टल उखुमात्र रहेको छ । पुस २२ गतेबाट चिनी उत्पादन सुरु गरेको उद्योग उखुको आपूर्ति पर्याप्त नहुँदा नियमित सञ्चालनमा ल्याउन नसकिएको प्रशासन प्रमुख ढकाल बताउनुहुन्छ । रु दुई अर्ब लागतमा निर्माण भएको उद्योगको वार्षिक ३५ हजार ५०० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको छ ।

उहाँले उखुखेती विस्तारको काममा उद्योगले समेत काम गर्दै आएको बताउनुभयो । टीकापुर नगरपालिकालगायत क्षेत्रमा उद्योगले जग्गा भाडामा लिएर उत्पादन सुरु गरिरहेको बताउँदै ढकालले बर्सेनि सात हजार बिघामा उखुखेती आवश्यक पर्ने जानकारी दिनुभएको छ ।

“किसानलाई खेती विस्तारमा कम्पनीले काम गरिरहेको छ । अर्कातिर आफैँ पनि खेती विस्तार गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ, “कामदार अभाव, यातायातको सहज पहुँचलगायतका समस्या छन् ।” रासस