८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाती मुद्दा टुंग्याउने प्रस्ताव भिडियो कन्फ्रेन्स मार्फत



अ+ अ-

काठमाडौं । नेपालले भारतसमक्ष विवादित भएर थाती रहेका सबै मुद्दा टुंगो लगाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भिडियो कन्फ्रेन्समा थाती रहेका मुद्दा टुंगोमा पुर्याउन प्रस्ताव गरेका हुन् । सीमा विवाद, सुगौली सन्धि लगायतका विवादित विषय लामो समयदेखि टुंगिन सकेको छैन । जसले गर्दा नेपालमा जहिले पनि भारत विरोधी आवाज उठिनै रहने गरेको छ । केही समय पहिला भारतले नेपाली भूमि समेटेको राजनीतिक नक्सा सार्वजनिक गरेपछि सो विवाद नेपालमा झनै चर्किरहेका वेला प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन् ।

‘मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौँ,’ प्रधानमन्त्री ओलीले भने,‘वार्ताका माध्यमबाट हामीबीच थाती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ ।’ विराटनगरस्थित एकीकृत भन्सारचौकीको उद्घाटन गर्न भिडियो कन्फ्रेन्समा जोडिएका बेला प्रधानमन्त्री ओलीले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको उल्लेख गरेका हुन् । ‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ,’ ओलीले भने ।

सीमा विवादमा प्रधानमन्त्री ओलीले विशेष दूत पठाउन लाग्दा मोदीले समय नदिएको समाचार आईरहेका बेला उनले सो प्रस्ताव सार्वजनिक रूपमा गरिदिएका हुन् । यसैगरी इपिजी प्रतिवेदनपनि अहिलेसम्म भारतले बुझ्न अस्वीकार गर्दै आईरहेको छ । प्रधानमन्त्री ओलीले थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुंगो लगाउने समय स्पष्ट पारे । अहिलेको नेपाल सरकारको आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको र भारत सरकारको आकांक्षा ‘सबका साथ सबका विकास र सबका विश्वास’ रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले ‘हाम्रा देशलाई वैभवयुक्त र खुसी राख्न सँगै काम गरौँ’ भनेर प्रस्ताव गरेका थिए ।

उनले पछिल्ला दिनमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरेको चर्चा गर्दै आगामी दिनमा दुई देशको सम्बन्धलाई अझ राम्रो पार्न सकिने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले बोलेपछि बोलेका मोदीले यो दशक नेपाल–भारत सम्बन्धको स्वर्णीम दशक बन्ने घोषणा गरे । उनले नेपालमा सबै मित्रहरुलाई नयाँ वर्ष २०२०को शुभकामना दिँदै आवागमनमा सबै मित्र राष्ट्रहरूमा सरल र सुचारु गर्न हाम्रो व्यापार, संस्कृति, शिक्षा आदि क्षेत्रको सम्पर्कलाई अझ सुगम बनाउन भारत प्रतिबद्ध रहेको जनाए । ‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौँ । मलाई आशा छ यो नयाँ दशक भारत–नेपाल सम्बन्धको स्वर्णिम दशक बनोस्,’ मोदीले भने ।

उनले भारत र नेपाल क्रस बोर्डर कनेक्टिभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसन लाइनमा काम गरिरहेको चर्चा गर्दै सीमाको प्रमुख स्थानमा ‘इन्ट्रिगेटेड चेक पोस्ट’ले आपसी व्यापार र आवागमनलाई निकै सुविधाजनक बनाइरहेको उल्लेख गरेका छन् । उनले सन् २०१५ मा नेपालमा भूकम्प एक दर्दनाक घटनाका रूपमा आएको चर्चा गर्दै भूकम्पजस्तो प्राकृतिक अप्ठेरोमा मानिसको दृढता र निश्चयको परीक्षा हुने गरेको र यो दुखद परिणामको सामना साहसका साथ गरेकोमा नेपालीप्रति भारत गौरवान्वित रहेको जनाएका छन् ।

उनले भारतको सहयोगमा ४५ हजार घरको निर्माण भइसकेकोमा सन्तोष व्यक्त गर्दै बाँकी घरको निर्माण पनि चाँडै पूरा हुने अपेक्षा गरेका छन् । उनले भनेका छन, ‘मेरो कामना छ, नयाँ वर्षमा यहाँको सहयोग र समर्थनबाट हामी आफ्नो सम्बन्ध अझ उचाइमा लग्नेछौँ र यो नयाँ दशक भारत नेपाल सम्बन्धको स्वर्णिम दशक बन्नेछ ।’ भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँग इन्टीग्रेटेड चेक पोस्ट (आइसीपी) उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत कस्तो छ भनेर सोधेका थिए । उनले नयाँ वर्षको शुभकामनासमेत दिएका थिए ।

उनले गएको साता संक्रान्तिको पर्व उल्लासका साथ मनाइएको समेत चर्चा गरे । भिडियो कन्फ्रेन्समा नेपालका राजदूत निलाम्बर आचार्य र भारतका सुरक्षा सल्लाहकार अजित डोभललगायतका पनि मोदीसँगै थिए ।

मोदी नेपाल आउने:मोदी यसै वर्ष नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री ओलीले भ्रमणको दिएको निम्तोलाई स्वीकार गर्दै मोदीले सन् २०२० को भ्रमण वर्षमै नेपाल आउने घोषणा गरे । उनले यो वर्ष आफू नेपाल भ्रमणमा आउने संकेतसमेत गरे । तपाईंहरूको मायाले खिचेर ल्याइरहेको चर्चा गर्दै मोदीले कुनै समय सँगै बिताउने उल्लेख गरेका छन् ।

नेपालका नागरिकको दर्शन गर्ने पनि मौका मिल्ने उनले चर्चा गरे । ‘कस्तो छ ?’, भनेर मन्तव्यको सुरुआत गरेका उनले अन्त्यमा नेपाली भाषामा भने, ‘अन्त्यमा, तपाईंहरू सबैलाई धेरै शुभकामना दिन्छु । फेरि भेट होला, नमस्कार ।’ सौर्य दैनिकबाट