८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ८४ प्रतिशत नेकपाकै सदस्य, कांग्रेस भने जितविहीन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा १८ सदस्य निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एक्लैले १६ सिट जितेको छ । दुई सिटमा नेकपाकै गठबन्धन राष्ट्रिय जनता पार्टीले दुई सिट जित हात पारेको हो । सातमध्ये ६ प्रदेशमा नेकपाले क्लिन स्विप गरेको छ भने प्रदेश–२ मा राजपासँग २/२ सिट बाँडेको हो । निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने जितविहीन अवस्था पुगेको छ । निर्वाचनको परिणामअनुसार राष्ट्रिय सभामा नेकपा निक्कै शक्तिशाली पार्टी बनेको छ । यो जितसँगै फागुनबाट राष्ट्रिय सभामा नेकपा एक्लैको ५० सदस्य पुगेको छ ।

यो कुल सदस्यको ८४ प्रतिशत हो । राष्ट्रिय सभा सदस्यमा रहेका ५९ सदस्यमध्ये अब कांग्रेसको ६ सदस्य र राजपाका दुई सदस्य रहेका छन् । यसअघि पहिलो पटक भएको निर्वाचनमा तत्कालीन एमालेबाट २७, माओवादी केन्द्रबाट १२, नेपाली कांग्रेसबाट १३, तत्कालीन संघीय समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनता पार्टीबाट २ जना निर्वाचित भएका थिए । यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना मनोनित गरेकी थिइन् । नेकपाले प्रदेश–२ मा कडा चुनौती सामना गर्नुपरेपनि अन्य प्रदेशमा भने सहज जित निकालेको छ ।

प्रदेश–२ मा भने मतभार कम भएको थियो । नेकपा र राजपाबीच पहिलो पटक गठबन्धन भएकाले त्यो सकारात्मक बन्ने वा नभन्ने चासोका बीच दुवै दलका उम्मेदवार विजयी भएका हुन् । मतपरिणामअनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । दाहाल ५ हजार २ सय ८ मतभार प्राप्त गरेकी थिइन् भने निजको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नगिना यादवले ४ हजार ७ सय ४० मत प्राप्त गरिन् । यसैगरी दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान विजयी भएका छन् ।

पासवानले ५ हजार २ सय ९२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी संघीय समाजवादी पार्टीका रामप्रीत पासवानले ४ हजार ७ सय ४ मत प्राप्त गरेका थिए । अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव ५ हजार ४ सय मतभार प्राप्त गरी विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी अनिरुद्ध यादवले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका थिए । यसैगरी अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला पंजियार ४ हजार ५ सय १२ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभामा प्रवेश गरेका छन् । गण्डकी प्रदेशको अन्यबाट उम्मेदवार बनेका श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए । उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ । यसैगरी, महिलातर्फबाट भगवती न्यौपाने पनि विजयी भएकी छन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ । उनीहरूबीच मतान्तर एक हजार २६ छ ।

प्रदेश–१ मा पनि नेकपाले क्लिन स्विप गरेको छ । नेकपाका उम्मेदवारहरू गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । दलिततर्फबाट अच्छामीले ६ हजार ३ सय ३० मतभार पाउदा उनका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ मतभार ल्याए । महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाइन् । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाए ।

बागतमी प्रदेशबाट नेकपाका दुवै उम्मेदवार विजयी भएका छन् । डा।वेदुराम भुसाल र गंगाकुमारी बेलबासेले सहज जित निकालेका हुन् । प्रदेश–५ मा नेकपाले अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन् । उनीहरू निक्कै ठूलो मतभारका साथ विजयी भए । यसैगरी कर्णाली प्रदेशमा नेकपा उम्मेदवार सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका छन् ।

निर्वाचन अधिकृत डा। राजेन्द्र कुमार आचार्यका अनुसार विसीले ३ हजार ६८४ मत ल्याएकी छिन् । यस्तै शर्माले ३ हजार ६१८ मत ल्याएका छन् । सुदूरपश्चिम प्रदेशबाट पनि नेकपा शारदा भट्ट र तारमान स्वाँर विजयी बनेका छन् । महिलातर्फ भट्टले ३ हजार ७ सय ३८ मतभार पाउदा स्वारले तीन हजार ७ सय २० मतभार प्राप्त गरे । कतिपय प्रदेशमा नेकपाको क्रस भोटिङसमेत भएको छ । कुनै एक उम्मेदवारले मत पाउँदा अर्का उम्मेदवारले मत नै पाएका छैनन् । सौर्य दैनिकबाट