८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस नियन्त्रणमा सरकारको तिव्र तयारी, विमानस्थलमा शुरु भयो ‘हाई अलर्ट’



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ डेस्कलाई सकृय बनाउँदै प्रत्येक नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको जनाएको छ । नेपाल भ्रमण आएका अमेरिकी नागरिकलाई ज्वरो आएपछि आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुर्याइएको थियो ।

ती नागरिक पुरुष रहेको र कोरोना भाइरसको आशंका गरिएको छ । हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेका अनुसार ज्वरो आएपछि उनलाई शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्याइएको हो । उनले भने, ‘हामी हाइअलर्टमा छौं । विमानबाट ओर्लेपछि बिदेशबाट आएका प्रत्येक नागरिकको स्वास्थ्य परीक्षण हुन्छ ।’ त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ जडान गरिएको छ । हेल्थ डेस्कमा रहेको थर्मल स्क्यानरले जहाजबाट ओर्लेर एयरपोर्ट छिर्दै गरेका सबै यात्रुको ज्वरो परीक्षण गर्छ ।

शंकास्पद बिरामीलाई त्यहीँबाट छुट्टै एक्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइने गरिएको छ । सरकारले चीनबाट आएका र ज्वरो तथा रुघाखोकी देखिएका व्यक्तिलाई सिधै निगरानीका लागि शहीद शुक्रबार ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा लैजान थालेको छ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ्य सचिव खगराज बराललाई आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्री ढकाल र सचिव बरालसँग नेपालमा कोरोना भाइरसको संक्रमण र संक्रमितहरूको उपचारको अवस्थाका सम्बन्धमा जानकारी समेत लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकाल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आइतवार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल (सिभिल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (सरकारीतर्फ) र निजीतर्फ नर्भिक अस्पताल, काठमाडौं मेडिकल अस्पताल लगायतलाई तयारी अवस्था रहन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

यस्तै, काठमाडौंका सबै सरकारी तथा निजी अस्पताललाई पनि बिरामी देखिएमा उनीहरूको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ । चीनको उहान प्रान्तमा रहेका नेपालीहरू बाहिर निस्किएका छैनन् भने सरकारले उच्च सतर्कतामा बस्न आग्रह गरेको छ ।नेपालमा हालसम्म दुई जनामा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ भने एक जनामा संक्रमणको पुष्टि भइसकेको छ । चीनबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको हो । नेपालमा पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै चीनसँगको सबै सीमा नाकामा स्वास्थ्य सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

हाल दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । उनीहरूको अस्पतालको आइसुलेसन वार्डमा उपचार भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत दुई जनामध्ये एक पुरुष र अर्को महिला रहेका छन् । दुवै जनामा ज्वरो आउने, स्वास प्रश्वासमा अप्ठेरो लगायतका समस्या देखिएपछि अस्पताल पुगेका थिए । हाल उनीहरूको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको छ । केही दिनअघि एक जनामा कोरोना भाइरस संक्रमण भएको आशंकामा टेकु अस्पताल पुगेका थिए ।

यसअघि एक जनामा कोरोनाको संक्रमण देखिएको भन्दै गरिएको परीक्षणबाट पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरसको समूह हो । जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ । कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ । यसले सामान्य रुघाखोकीदेखि निमोनिया भई मानिसको मृत्युसम्म हुन्छ । चिकित्सकका अनुसार अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो । जुन पहिले मानिसमा पहिचान भएको थिएन । डब्लूएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को समस्या निम्त्याउँछ ।

नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन । यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्छ । नोबेल कोरोना भाइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । लक्षणका आधारमा उपचार गरिने चिकित्सक बताउँछन् ।गत डिसेम्बर महिनादेखि छिमेकी राष्ट्र चीनमा देखिएको कारोना भाइरसको संक्रमणबाट हालसम्म ६४ जनाको मृत्यू भइसकेको छ भने दुइ हजार तीन सय ९५ जना क्रिटीकल अवस्थामा छन् ।

चिनको उहानमा रहेका नेपाली त्रासमा:कोरोनाभाइरसको संक्रमण फैलिदैं गएपछि चिनको उहान शहरमा रहेका नेपालीहरू त्रास अवस्थामा छन् । विमान मार्फत् नेपाल पुर्याउन उहान शहरमा रहेका नेपाली नागरिकले आग्रह गरेका छन् । उहानमा रहेका डा. रमेश आचार्यका अनुसार हालसम्म फ्रान्स, जापान, अमेरीका, वेलायत, अष्ट्रेलीयाका नागरीकहरूलाई सम्वन्धित देशका विमानले आफ्नो देश लगिसकेका छन्।

उनले भने, नेपालीहरू त्रास अवस्थामा दिनचर्या बिताइरहेका छन् । कम्तिमा सरकारले नेपाल पुर्याइदिओस् भन्ने छ ।’सरकारले उहानमा रहेका नेपालीलाई नेपाल फर्काउने विषयमा उच्चस्तरीय छलफल भइरहेको जनाएको छ । हाल उहानमा एक सय बढि नेपाली नागरिक छन् । राजधानी दैनिकबाट