१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखनाथ साहित्य पुरस्कार’ प्राध्यापक कँडेललाई प्रदान



अ+ अ-

काठमाडौँ। लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार आज काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो ।

नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पूर्वकुलपति उप्रेतीले नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा कवि शिरोमणि पौड्यालकोे भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले कवि शिरोमणिको योगदानलाई पोखराका साहित्यकारले कदर गरी उहाँको जन्मस्थान अर्चलेमा विभिन्न कार्यक्रम आयोजना हुनु आफैँमा खुसीको कुरा रहेको बताउनुभयो । उक्त प्रतिष्ठाले दुई दशकभन्दा लामो समयदेखि विशिष्ट साहित्यकारलाई सम्मान गर्नु सराहनीय काम भएको उहाँले बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले परिस्कारवादी कविता लेख्ने महान् कवि पौड्याल भएको बताउनुभयो । पौड्यालको कवितालाई तीन चरणमा बाँडेर अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व कवि शिरोमणि लेखनाथ पौड्याल भएको बताउनुभयो । लेखनाथ पौड्याल नेपाली शिक्षा परिषद्को पहिलो अध्यक्ष भएको उहाँले स्मरण गर्नुभयो ।

लेखनाथ साहित्य प्रतिष्ठान पोखराका पूर्वअध्यक्ष एवं पुरस्कार कोषका अध्यक्ष डा शुक्र अधिकारीले २०५४ सालमा लेखनाथ साहित्य प्रतिष्ठान स्थापना गरी उहाँको साहित्यिक अभियानलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।

उक्त प्रतिष्ठानले यसअघि प्रा डा वासुदेव त्रिपाठी, जगमान गुरुङ, सरुभक्त श्रेष्ठ, धर्मराज थापा, मुकुन्दशरण उपाध्यायलगायतका थुप्रै स्रष्टालाई सम्मान गरिसकेको छ ।

धादिङको मलेखु स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्नुहुन्छ । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कार र मस्र्याङ्दी वाङमय प्रतिष्ठानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ ।रासस