११ असार २०८३, बिहीबार
,
Latest
पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन



अ+ अ-

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य केन्द्र बन्दै गएको छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, धौलागिरि, माछापुच्छ्रेलगायत हिमालका साथै आसपासका गाउँ तथा खोँचका मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पर्यटकको आकर्षण बढ्न थालेको हो ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्याङ्की निर्माणका लागि पानी बोक्न खच्चरको प्रयोग गरिएको छ । हिल स्टेसनमा पर्याप्त पानी नभएपछि खानेपानीको ट्याङ्की निर्माणका लागि खच्चरलाई पानी बोकाएर काम सुरु गरिएको छ ।

पञ्चासेमा मुल रहेको खानेपानी हिल स्टेसनसम्म पुर्‍याउन लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको रु २० लाख बजेटबाट लिफ्टिङ विधिबाट आयोजना सञ्चालन गरिएको सन्धिखर्क-७ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार मोटरबाटो नपुगेको स्थानमा खानेपानी ट्याङ्की निर्माण गर्न दैनिक सात वटा खच्चरले पानी बोकेर कामलाई तीव्रता दिइएको छ ।

डोल्पाबाट हिँडेका सात वटा खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्यूठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लागेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो । “पञ्चासे मुलबाट ट्याङ्की निर्माण हुन लागेको छोर्लेकमा सात वटा खच्चरले दैनिक पाँच पटक पानी लैजान्छन् । एउटा खच्चरले एकपटकमा ७० लिटर पानी बोक्न सक्छ”, उहाँले भन्नुभयो ।

प्रतिखच्चर दैनिक रु पाँच हजार दिने गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष डुकबहादुर खत्रीले जानकारी दिनुभयो । “यसरी पानी बोकाउँदा करिब एक लिटरको रु १० पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

खाँचीकोट क्षेत्र पुरानो ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको स्थानका रूपमा परिचित छ । हिल स्टेसनसम्म पुग्ने पूर्वाधारसहित अन्य सुविधाको पहुँच सहज बन्दै गएको यो क्षेत्र अर्घाखाँचीको नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको वडाध्यक्ष केसीले बताउनुभयो । हिल स्टेसनमार्फत जिल्लाको पर्यटन प्रवर्द्धन हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित बनाउन र विकास गर्न योजनाबद्ध रूपमा काम गरिरहेका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले लिएको उहाँको भनाइ छ ।

सुपा देउरालीमा आएका पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँचीको पहिचानका साथै पर्यटन प्रवर्द्धनको मेरुदण्ड बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । रासस